अर्थतन्त्रका आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार गर्न निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिती, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
यस्तै, गत वर्षको तुलनामा राजस्व वृद्धि, आर्थिक वृद्धि दर राम्रो हुने स्थिति भएपनि आयात, निर्यात, उत्पादन, माग, पूँजीगत खर्च, लगानी लगायतका पक्षमा समीक्षा गरेर अघि बढ्न निर्देशन दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थतन्त्रमा देखा परेका सकारात्मक सूचकहरुलाई विशेष ध्यान दिएर त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न जरुरी रहेको बताए ।
उनले समस्याको स्थिति देखाएर मात्र नहुने उल्लेख गर्दै त्यसका कारणहरु र निराकरणका उपायहरु पनि उत्तिकै आवश्यक हुने उल्लेख गरे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलता, कम ब्याजदर लगायतलाई अवसरका रुपमा लिइ लगानी बढाउन सकिने धारणा व्यक्त गरे ।
उनले सार्वजनिक र निजी क्षेत्रमा थप काम हुने वातवारण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए ।