स्थानीय तहको उप-चुनावः पुरानै शक्तिको बोलवाला पुनःस्थापित !
काठमाडौँ । यो साता भएको स्थानीय तहको उप निर्वाचनले नयाँ शक्तिहरुलाई नेपाली राजनीतिको रङ्गमञ्चमा उभार्ने अनुमानहरु धूमिल पारिदिएको छ । यो चुनावले पुनः एक पल्ट परम्परागत शक्तिहरु नै समाजमा तल्लो तप्कासम्म भिजेर बसेका छन् भन्ने स्पष्ट संकेत गरेको छ ।
यसले नयाँ राजनीतिक शक्ति बन्ने कोसिस त्यति सजिलो नभएको संकेत गरेको छ ।
आइतबार विभिन्न पालिकाका प्रमुख र उपप्रमुखमा ८ पद सहित कुल ४२ पदका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनको परिणामले यस्तो देखाएको हो । यो चुनावमा नयाँ शक्तिको रुपमा उदाउने कोसिस गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नराम्रोसँग हार खान बाध्य भएको छ ।
बरु विगतका निर्वाचनमा कमजोर बन्दै गएको माओबादी केन्द्रले आफ्नो मत बढाउने कोसिस गरेको देखिएको छ । सातै प्रदेशका विभिन्न पालिका र वडामा भएको निर्वाचनले वर्तमान राष्ट्रिय राजनीतिक समिकरण तुरुन्तै फेरिने संभावनालाई एक प्रकारले नकारेको देखिन्छ ।
यो निर्वाचनमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले झण्डै एक तिहाई अर्थात् ३१.३२ प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचन आयोगको मत विवरण अनुसार लगभग २६ प्रतिशत भोट नेकपा एमाले र करीब २५ प्रतिशत मत माओवादी केन्द्रले प्राप्त गरेको छ ।
स्वतन्त्र उमेद्वारहरुले कुल सदर मतको करीब ६ प्रतिशत भोट पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ३.४७ प्रतिशत मत पाएको छ । एकीकृत समाजबादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान २.६ प्रतिशत हाराहारी मत पाएका छन् ।
जनता समाजवादी पार्टी नेपालले १.५७ प्रतिशत मत पाएको छ भने १ हजार भोट कटाउने अन्तिम दल बनेको जनमत पार्टीले पनि कुल सदर मतको ०.७५ प्रतिशत हिस्सेदारी पाएको छ । अरु १३ दलले मिलेर कुल मतको १.३५ प्रतिशत भोट पाएका छन् ।
अर्को रमाइलो चाहीँ कम्तिमा ३८ जना स्वतन्त्र उमेदवारले १ भोट पनि पाएका छैनन् । शून्य भोटमा चुनाव लड्ने उनीहरु आफैँले पनि आफूलाई भोट नहालेको देखिन्छ । यसले स्वतन्त्र उमेदवारी केवल कुनै व्यक्ति वा दललाई भोटमा घाटा पुर्याउनका लागि मात्रै अघि सारिएको देखिएको छ ।
यो चुनावमा २१ राजनीतिक दलले भाग लिएको निर्वाचन आयोगको विवरणमा देखिन्छ । ३४ वडा र ८ पालिकामा भएको चुनावले नेपालमा पुराना राजनीतिक दलको भविष्य अझै सुदृढ रहेको पुनःपुष्टि गरिदिएको छ ।
यो पल्ट कोशीमा १ पालिकासहित ८ पदका लागि चुनाव भएको थियो । मधेशमा ७, बागमतीमा ७, गण्डकीमा १, लुम्बिनीमा ६, कर्णालीमा ८ र सुदुरपश्चिममा ५ पदका लागि चुनाव भएको थियो । यो पल्ट माओबादीको अलि बढी प्रभाव भएको क्षेत्रमा ज्यादा चुनाव भएको र कर्णाली प्रदेशमा पालिका स्तरमै ३ वटा चुनाव भएका कारण संसदको तेस्रो ठूलो दलले आफ्नो भागको मत बढाएको देखिएको छ ।