भुटानका राजारानी नेपालमा, स्वयम्भू र बौद्धनाथको दर्शन गर्दै

काठमाडौँ । भुटानका राजारानी जिग्मे खेसर नाम्गेल वाङचुक र जेट्सुन पेमा वाङचुक शुक्रवार नेपाल आइपुगेका छन् । उनीहरुलाई परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छिन् । विमानस्थलबाट राजारानी सिधै स्वयम्भू पुगेको र त्यहाँबाट बौद्धनाथ पुगेर दर्शन गरी आजै दिउँसो २ः४० बजे भुटान फर्किने बताइएको छ ।
उनीहरूको भ्रमण निजी भएको र काठमाण्डूमा केवल तीनदेखि चार घन्टा मात्रै रहने बताइएको छ। भारत भ्रमणमा आएका उनीहरू भुटान फर्किने क्रममा ‘ट्रान्जिट भिजिट’का रूपमा काठमाण्डूमा अवतरण गरेका हुन् ।
‘उहाँहरूले काठमाण्डूका बौद्ध तीर्थस्थलहरूको भ्रमण गर्नुहुने छ। उहाँहरूका लागि गाडी, सुरक्षा व्यवस्था र स्वागतका लागि हामीले समन्वय गरेका छौँ’, परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुभाङ्ग पराजुलीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उनको यो भ्रमण राजनीतिक वा सामाजिक नभइ ‘धार्मिक र नितान्त व्यक्तिगत’ भएको बताइएको छ। तीन–चार घण्टाको भ्रमणमा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको पनि बताइएको छ।

भुटानी राजको आगमनका कारण काठमाडौँमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
गत असोजमा दशैँको घटस्थापनाका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका केही सदस्यहरूसहित भुटानको भ्रमण गरेका थिए।

उक्त भ्रमणका लागि भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले नै पूर्वराजपरिवारलाई थिम्पु भ्रमणको निम्तो दिएको शाहका संवाद सचिव फणिराज पाठकले बताएका थिए।
त्यति बेला सामाजिक सञ्चालहरूमा सार्वजनिक भएका तस्बिरहरूमा शाहको टोलीलाई भुटानी राजकुमारीले विमानस्थलमै पुगेर स्वागत गरेको देखिएको थियो।
शाहलाई लामो रातो कार्पेट ओछ्याएर स्वागत गरिएको तस्बिरहरू सार्वजनिक भएपछि भुटानले नेपालका पूर्वराजालाई ‘ठूलो सम्मान दिएको’ विषयमा सामाजिक सञ्जालमा चर्चा भएका थिए ।

भारतको औपचारिक भ्रमणमा आएका भुटानका राजारानीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करसँग बिहीवार भेटवार्ता गरेका थिए।
सन् १९८० को दशकको अन्त्यदेखि भुटानले ‘एक देश, एक भाषा’को नीति लिएपछि झन्डै एक लाख नेपालीभाषी भुटानी भारतको बाटो हुँदै नेपाल निर्वासनमा आएका थिए। यहाँ आएदेखि देशफिर्तीका लागि लामो समय भुटानी शरणार्थीहरूले पहल गरे।
तर नेपाल र भुटानबीच विभिन्न चरणमा वार्ता भए पनि त्यसले कुनै निष्कर्ष निकाल्न नसकेपछि करिब १ लाख १३ हजार भुटानी शरणार्थीहरू तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत युरोपका देशहरूमा गए।
तर पुनर्वासमा जान नमानेर भुटान नै फर्किने अडान लिएर सानो सङ्ख्यामा शरणार्थीहरू अहिले पनि पूर्वी नेपालको झापा जिल्लास्थित बेलडाँगी र शनिश्चरेमा बस्दै आएका छन्।
त्यसरी बस्ने दर्ता भएका शरणार्थीको सङ्ख्या ६,२०० रहेको छ। तिनैमध्येका एक दिल भुटानीले भुटानका पाँचौँ राजा जिग्मेको नेपालमै जन्म भएको भन्ने आफूले सुनेको बताएका छन् ।