स्टारलिंकले अफ्रिकी दूरसञ्चार बजारमा कसरी भूकम्प ल्याउँदै छ ?
काठमाडौँ । स्टारलिंकले अफ्रिकामा अवतरण गरेको दुई वर्षभन्दा कम समयमा नै पुरा महाद्वीपको दूरसञ्चार बजारलाई तरङ्गित पारिदिएको छ । संसारकै सबैभन्दा धनि व्यक्ति इलोन मस्कको कम्पनी स्पेस एक्सले विकसित गरेको यस स्याटेलाइट इन्टरनेट सेवाको विस्तार असाधारण तीव्र देखिएको छ ।
यसले अफ्ना प्रतिस्पर्धीहरुको तुलनामा ज्यादै छिटो ‘कनेक्सन’ बढाउँदै लगेको छ । त्यतिमात्रै होइन, भूईँमा विच्छ्याइएका तार वा वाइफाइ टावरजस्ता पूर्वाधारभन्दा सयौँ किलोमिटर टाढाका दूरदराज ग्रामीण वस्तीहरुमा पनि ‘कनेक्टिभिटी’ उपलब्ध गराउन सक्षम भएको छ ।
आकाशमा ६ हजारभन्दा धेरै स्याटेलाइट (भू–उपग्रह)हरुको सञ्जाल बनाएर इन्टरनेट सेवा उपलब्ध गराएको यो कम्पनीका कारण अफ्रिकाका १७ मुलुकमा ‘टेलि–मेडिसिन’ एवम् शिक्षामा डिजिटल उपकरणहरुको प्रयोलाई ब्यापक पार्न सघाउ पुगिरहेको छ ।
यस्ता भव्य उपलब्धीहरुको चमक पछाडी केही कालो छायाँ पनि देखिएको छ । त्यो, उसको व्यावसायिक तौरतरिका (विजनेश मोडल) हो । ज्यादै कम अफ्रिकीहरुलाई जागिर दिएको र साह्रै थोरै पैसा लगानी गरेर स्टारलिंकले आफ्नो विशाल ब्यापार साम्राज्य फैलाउन थालेको छ ।
यसका अलवा रातारात मूल्य बढाउँदै जाने आक्रामक शैली अर्को चुनौती बनेको छ । त्यतिमात्रै होइन, कतिपय देशमा दूरसञ्चारको एकाधिकारलाई निरुत्साहित गर्ने कानूनहरुको उल्लंघन हुन थालेको छ भने कयौँ देशमा नियामकीय एवम् कानूनी व्यवस्थाको परिपालना समेत प्रभावकारी रुपमा भएका छैनन् ।
यसको एउटा ज्वलन्त उदाहरण नामिबिया हुनसक्छ, त्यहाँ दुई साता अघिमात्रै बिना लाइसेन्स अवैध रुपमा इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै स्टारलिंकलाई बन्देज लगाइएको थियो ।
दक्षिण अफ्रिकामा कम्पनीको ३० प्रतिशत स्वामित्व त्यहाँका काला जातिलाई छुट्याउनु पर्ने कानूनी व्यवस्था छ । हुन त, अहिले नै ७५ प्रतिशत जनसंख्या इन्टरनेटको पहूँचमा पुगिसकेको त्यो देशमा प्रतिस्पर्धा ज्यादा धेरै हुन्छ । तर त्यहाँ पनि राष्ट्रपति सिरिल रामफोसालाई भेटेर एलन मस्कले ‘अपवाद’ को सुविधा मागेको र सरकारले उनलाई त्यस्तो मौका दिन खोजेको खबरहरु बाहिरिएका छन् ।
यद्यपि, लोकतन्त्रमा स्पष्ट कानूनी व्यवस्थालाई सहजै उल्लंघन गर्न कठीन पर्नसक्ने विश्लेषकहरु बताउँछन् । तर मस्क आफूलाई ‘विशेषाधिकार’ चाहिने माग गर्न पछि नहटेको समाचारहरु आएका छन् । उनी कानून मान्ने होइन, आफ्नो आवस्यकता अनुसार संसारभर कानून बनाउने अभियानमा छन् ।
मस्कलाई मौका
‘स्टारलिंकसँग मुख्यतया दुईटा तुलनात्मक लाभ छन् । पहिलो, यसले पृथ्वीको तल्लो कक्षमा रहेका स्याटेलाइटको माध्यमबाट सेवा प्रदान गर्छ र यसको इन्टरनेट गति कुनै पनि भौगोलिक सेवा प्रदायकको तुलनामा कयौँ गुणा छिटो छ’, अफ्रिकी रणनीतिक अध्ययन केन्द्रका साइबर सुरक्षा विशेषज्ञ नेट एलन भन्छन् ।
उनको विचारमा दोस्रो लाभ चाहीँ यसको विस्तारकारी सामथ्र्य हो । आउँदा वर्षमा स्टारलिंक अरु थुप्रै स्याटेलाइट पृथ्वीको कक्षमा पठाउन सक्षम छ । यसरी ऊ स्थलीय सेवा प्रदायकहरुसँग मूल्यमा पनि राम्रै प्रतिस्पर्धामा उत्रन सक्छ । त्यसपछि पुरै महाद्वीपको दूरसञ्चार बजारमा नाटकीय ढंगले परिवर्तन देखिनसक्ने एलन औँल्याउँछन् । उनले भने, ‘उसले (स्टारलिंक) साँच्चै नै खेलको नियम बदलिदिन सक्छ ।’
एलन जुन उथल–पुथलको चर्चा गर्दै छन्, त्यो नै स्टारलिंकका बारेमा सबैभन्दा ठूलो चिन्तामध्येको एक हो । यदी उसले बजारमा एकाधिकार स्थापित गर्न सक्यो भने इन्टरनेटको मूल्य निर्धारणमा पनि उसैको एकछत्र नियन्त्रण हुने छ । अहिले नै एकाधिकारको स्थिति नजिक पुगेका ठाउँमा उसले रातारात मूल्य बढाउँदै गएको देखिन्छ, जहाँ तीव्र गतिको इन्टरनेट ज्यादा माग गरिएको छ ।
नाइजेरियाको सन्देश
जनवरी २०२३ मा पहिलो पल्ट अफ्रिकी देश नाइजेरियामा स्टारलिंकको इन्टरनेट सेवा सुरु भयो । त्यसपछि एउटा कन्सल्टेन्सि फर्म ‘स्पेस’ले छात्रबृत्ती योजना अघि सार्यो । जस अनुसार ग्रामीण विद्यालयहरुमा स्टारलिंकको तीव्र गतिको इन्टरनेट सुविधा जोडिदियो र इन्टरनेटमा उपलब्ध हुने सबै खाले ‘ओपन–सोर्स’ शैक्षिक सामग्रीमा सबै बच्चाको पहूँच पुर्याइदियो ।
त्यहाँका शिक्षक र विद्यार्थीलाई उच्च गुणस्तरको अनलाइन पाठ्यक्रमहरु पढ्ने–पढाउने अवसर दिएको उक्त कार्यक्रले ग्रामीण समुदायको शिक्षाको जगमै क्रान्ति ल्याइदियो । तर एक वर्ष बित्दा–नबित्दै गएको ३० सेप्टेम्बरमा स्टारलिंकले बिना कुनै पूर्व सूचना, एकतर्फी रुपमा इन्टरनेटको मूल्य दोब्बर हुने घोषणा गरिदियो ।
एक महिनापछि लागू हुने भनिएको उक्त मूल्य बृद्धि नाइजेरियाका लागि मात्रै थियो । नाइजेरियामा त्रैमासिक रुपमा ११३ प्रतिशतका दरले बजार विस्तार गरिरहेको यो कम्पनीले एक्कासी यसरी मूल्य बढाउन सक्नु पनि उसको व्यावसायिक ढाँचा नै हो ।
स्टारलिंकले ग्राहकसँग कुनै सम्झौता गर्दैन । हरेक महिना बील बन्छ र ग्राहकले पैसा तिर्नुपर्छ । आफूले खोजेजस्तो सेवा पाइएन भने ग्राहकले कुनै पनि बेला इन्टरनेट बन्द गरिदिन सक्छ । ग्राहक र सेवा प्रदायकबीच कुनै करार नहुने भएकाले यसको न्यायिक निरुपण पनि सहज छैन ।
यही फन्दामा नाइजेरियाको शिक्षा समुदाय पर्यो । अब बढेको मूल्य त्यही संस्था ‘स्पेस’ले नतिरिदिने हो भने ती विद्यार्थीहरु इन्टरनेटमा उपलब्ध शैक्षिक सामग्रीको पहूँचबाट पुनः बाहिरिने छन् । भलै, त्यहाँको दूरसञ्चार नियामकले ठूलो दबाब दिएपछि ‘अस्थाई’ रुपमा महसुल बृद्धिको निर्णय स्थगित भएको छ । तर कानूनी लफडा सुल्झिएपछि पुनः यो समस्या दोहोरिने नै छ ।
अमेरिकामा १०० डलरमा बेचिरहेको इटरनेट ‘प्याकेज’ स्टारलिंकले अन्य देशमा २० देखि ३० डलरमै बेचिरहेको छ । यो स्तरको ‘मूल्य युद्ध’ले उसलाई अफ्रिकामा विद्यमान इन्टरनेट सेवा प्रदायकसँग प्रतिस्पर्धा गर्न र बजारलाई आक्रामक रफ्तारमा आफ्नो कब्जामा लिन सघाउँछ ।
अहिले नै अफ्रिकी बजारमा कयौँ दूरसञ्चार सेवा प्रदायकहरु स्टारलिंकका कारण आफ्नो ग्राहक गुमाउन बाध्य भइसकेका छन् ।
अर्थव्यवस्थामा असर
अहिले विश्वब्यापी रुपमा इन्टरनेट ‘कनेक्टिभिटी’ ६६ प्रतिशत हाराहारी छ भने अफ्रिकामा यो दर ४७ प्रतिशतमात्रै छ । यही कारण अफ्रिकी बजार अहिले स्टारलिंकका लागि ‘उर्वर भूमि’ बनेको छ ।
तर स्टारलिंकजस्तो कम्पनीको आगमनले त्यस क्षेत्रमा पहिलेदेखि नै दूरसञ्चार सेवा दिइरहेका कम्पनीहरुको भविष्य के होला भन्ने प्रश्न जन्माउन थालेको छ । अफ्रिकामा कयौँ दूरसञ्चार कम्पनीहरु सरकारी स्वामित्वमा चलेका छन् ।
कयौँ त्यस्ता कम्पनी छन्, जुन अफ्रिकी नागरिकले सञ्चालन गरिरहेका छन् । उनीहरुले ठूलो संख्यामा अफ्रीकीस् नागरिकलाई रोजगारी दिएका छन् र त्यहीँका सरकारलाई ब्यापक मात्रामा राजस्व तिर्छन् । केन्याको सफारीकम कम्पनीलाई उदाहरण मान्ने हो भने उसले ६ हजार जनालाई प्रत्येक्ष जागिर दिएको छ । कम्पनीले १२ लाख मानिसहरुले आफ्नो सेवाका कारण रोजगारी पाएको दाबी गर्छ ।
तर मस्कको कम्पनी स्टारलिंकले खासै अफ्रिकीहरुलाई रोजगारी दिएको छैन । जति दिएका छन्, ती पनि ‘अफ्रीका घुम्न आएका विदेशी’जस्तो देखिने अफ्रिकी स्याटेलाइट उद्योगकका विशेषज्ञ एवम् ‘स्पेस’का निर्देशक टेमिदायो ओनिओसुन भन्छन् ।
यसरी अफ्रिकी समाजलाई कयौँ नवीन अवसरहरु प्रदान गर्ने र दूरदराजमा बलियो इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउने सकारात्मक पहलहरुका बाबजुद स्टालिंकले प्रतिस्पर्धा कानून एवम् रोजगारी सिर्जनाका क्षेत्रमा मानिसहरुलाई निरास बनाउन थालेको छ । त्यसैले स्टारलिंक स्याटेलाइटहरु अफ्रिकालाई अस्थिर बनाउने ‘नयाँ शक्ति’को रुपमा देखा पर्न थालेका छन् ।
पातृसिया ब्लाङ्कोले स्पेनी अखबार एल पाइसमा लेखेको समाचारको अनौपचारिक अनुवाद (आंशिक परिमार्जन सहित)।