रबि लामिछाने विरुद्ध ४२७ पेजको अभियोजन, मुद्दा दर्ता भएसँगै के हुन्छ उनको सांसद पद ?

काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा पोखरामा मुद्दा दायर भएको छ।
कास्की जिल्ला अदालतमा उनीविरुद्ध फरकफरक अभियोगमा छुट्टाछुट्टै आरोपपत्र दर्ता भएको हो । कुल ४२७ पेजको अभियोजनपत्र दर्ता भएको अदालत प्रशासनले बताएको छ । उक्त अभियोजनपत्रमा कोको व्यक्तिलाई कुनकुन कसूरमा कस्तो सजाय माग गरिएको छ भनेर विस्तृतमा हेर्न नभ्याइएको अदालतले जनाएको छ ।
तीनवटा छुट्टाछुट्टै अभियोगपत्रहरू अदालतमा दर्ता भएका छन्। कास्कीको जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
कास्की प्रहरीले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा चलाउनु पर्ने सिफारिससहित गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यसको स्क साता पश्चात् सरकारी वकिलले अदालतमा मुद्दा लगेको छ ।
काठमाडौँमा ग्यालेक्सी फोके टेलिभिजन सञ्चालन गर्न स्थापित कम्पनी गोर्खा मिडिया प्रालिले सहकारी ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान सुरु भएको थियो । त्यसपछि गएको २ कात्तिकमा काठमाडौँबाट लामिछाने पक्राउ परेका थिए । उनलाई पोखरा, बुटवल, चितवन लगायत स्थानमा बयान लिइएको थियो । पक्राउ परेको झण्डै १० हप्तापछि मात्रै उनी विरुद्ध अभियोजन दर्ता भएको छ ।
अब अदालतले लामिछाने सहितका प्रतिवादीहरूबाट बयान लिनेछ। त्यसपछि हुने थुनछेक बहसमा प्रतिवादीहरूलाई थुनामा राखेरै मुद्दा चलाउने की धरौटी वा तारेखमा छाडेर मुद्दा चलाइरहने भन्ने निर्णय हुनेछ। यदी अदालतले उनलाई खुला छाडेर मुद्दा चलाउने निर्णय गर्यो भने उनको सांसद पद अहिले यथावत नै रहने छ । तर यदी अदालतले थुनामै राखेर मुद्दा चलाउने निर्णय लियो भने चाहीँ उनको सांसद पद पनि निलम्बनमा पर्ने छ ।