को गभर्नर, कस्तो गभर्नर ? « Arthapath.com
१९ फाल्गुन २०८१, सोमबार

को गभर्नर, कस्तो गभर्नर ?



सम्भवतः अबको एक महिनापछि नेपाल राष्ट्र बैंकमा गभर्नर हुने छैनन् । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २३ चैतमा सकिने भए पनि उनी अन्तिम समयमा विदा बस्न सक्छन् ।

गभर्नरको कार्यकाल सकिनु एक महिना अघि नै सरकारले नयाँ गभर्नर छान्नुपर्ने हुन्थ्यो । तर अहिलेसम्म यसको प्रक्रिया थालनी हुन सकेको छैन । सत्ता गठबन्धनका दुई मुख्य दलबीच केन्द्रिय बैंकको नेतृत्वलाई लिएर स्पष्टता हासिल नभइसकेको हुनसक्छ ।

वर्तमान गभर्नरलाई विदाई गर्ने ‘समय आएको’ भनेर सेयर बजारले ‘हर्षोल्लास’ मनाइरहेको देखिन्छ । सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म पनि अब बन्ने गभर्नर ‘कस्तो हुनुपर्ने’ भनेर बहस चुलिएको छ । भलै यसमा सबैको राय समान देखिँदैन ।

‘कस्तो गभर्नर’ भन्ने सवालको ‘सटिक’ उत्तर त्यति सजिलो छैन । हाम्रा अभ्यास, कानूनी व्यवस्था र वर्तमान आवस्यकताहरु कहिँ न कहिँ पृथक-पृथक दिसातर्फ मोडिएजस्तो देखिन्छन् । यी सन्दर्भलाई थाति राखेर भन्ने हो भने ‘विषयवस्तु बुझेको, विवेकको प्रयोग गर्ने र नेतृत्व गर्नसक्ने’ गुण छ भने ‘जोसुकै’ व्यक्ति नयाँ गभर्नर बने पनि देश र अर्थतन्त्रको हित नै हुन्छ ।

तर के हामी त्यस्तो पात्रलाई केन्द्रिय बैंकको भविष्य सुम्पन तयार छौँ त ? तत्कालका लागि चाहीँ यो त्यति सम्भव देखिँदैन । आज कयौँ स्वार्थ समूहका निम्ति अर्थमन्त्री र प्रधानमन्त्रीभन्दा पनि कतिपय अवस्थामा राष्ट्र बैंकको गभर्नर ज्यादा ‘महत्वपूर्ण’ लाग्न थालेको छ ।

केन्द्रिय बैंकले चाल्ने हरेक नीतिगत व्यवस्थाहरु तिनै स्वर्थ समूहको ‘लाभ—हानी’सँग जोडिन्छन्, उनीहरुको ‘गाँस, वास र कपास’सँग गाँसिन्छन् । यो पद राजनीतिक दलहरुको शक्ति पनि हो । गभर्नरको कुर्सीमा बसेको व्यक्तिले कुनै सरकार वा अर्थमन्त्रीलाई ‘सफल’ र ‘असफल’ बनाउनमा धेरै हदसम्म भूमिका खेलिदिन सक्छ ।

त्यसैले कम्तिमा आजको दिनमा राष्ट्र बैंकको गभर्नर बन्न यथोचित योग्यता र इमानदारीमात्र पर्याप्त छैन । यसका लागि अरु नै केही गुण आवस्यक छ । हामीले गफगाफ गरेका केही विज्ञ र राष्ट्र बैंकका पूर्व पदाधिकारी पनि पनि यस्तो पात्रको खोजि हुने संभावना देख्छन्, जुन कानूनका हरफहरु रटेर योग्यता सिद्ध गर्न सकिँदैन ।

अनुपम योग्यता !

आजको दिनमा कुनै न कुनै बलियो राजनीतिक दलको पृष्ठपोषण बिना गभर्नर ‘टिक्न’ सक्ने अवस्था छैन । बलियो राजनीतिक समर्थन बेगर राष्ट्र बैंक भित्रको ट्रेड युनियनहरुले गभर्नरलाई ‘बाँकी’ राख्दैनन् । त्यसैले नयाँ गभर्नरको प्राथमिक योग्यता राजनीतिक नेतृत्वको भरपूर समर्थन जुटाउनु हो ।

यसो हुँदा भविष्यमा सरकार बदलिएछ भने पनि गभर्नरलाई सधैँभरी केन्द्रिय बैंकभित्र एउटा तप्काको सहयोग मिलरहन्छ । सरकारले नयाँ मान्छे गभर्नर बनाउन खोज्यो भने पनि त्यसको सशक्त विरोध गर्ने र नयाँ पात्रलाई ‘सुपर फ्लप’ बनाउन धम्की दिने काममा पनि यो काइदाले गज्जब सहयोग गर्छ ।

दोस्रो योग्यता हो— ‘राजनीतिक समन्वय’ । अर्थतन्त्र जेसुकै भए पनि आफ्नो ‘पार्टी लाइन’ अनुसार स्पष्ट ढंगले काम गर्ने योग्यता गभर्नरमा हुनु आवस्यक छ । आफ्नो पार्टीको नेतृत्वले जसरी काम गर्न निर्देशन दिन्छ, त्यसै गरी भूमिका खेल्ने दक्षता गभर्नरमा आवस्यक देखिएको छ ।

त्यस्तै, व्यावसायिक घरानाहरुलाई पनि चित्त बुझाउन जान्नुपर्छ । अहिले त कुन व्यावसायिक घराना कुन दलसँग जोडिएको छ भन्ने लगभग स्पष्ट छ । त्यसैले आफ्नो दलसँग गाँसिएको र आफ्नो दललाई प्रभाव पार्नसक्ने घरानाहरुको स्वार्थलाई थोरबहुत संरक्षण गरिदिन सक्ने मान्छेमात्रै गभर्नरमा टिक्न सक्छ ।

होइन भने व्यवसायीको गुनासो सुनेर भविष्यमा आफ्नै पार्टीले पनि ‘अप्ठेरो नपार्ला’ भन्ने प्रत्याभूति कसैले दिन सक्दैन ।

आफ्नो दलको ट्रेड युनियनलाई विशेष लाभ पुर्याउनमा त गभर्नर चुक्नै हुँदैन । भविष्यमा नयाँ बन्ने सरकारले जोरी खोज्न खोज्यो भने प्रतिकार गर्ने र राजनीतिक दलसँगको आफ्नो सम्बन्धलाई मलजल गरिराख्न यिनै युनियनले भूमिका खेल्छन् । यिनीहरु एक हिसाबले गभर्नरको ‘रक्षा कवच’ हुन् ।

योभन्दा अझ ‘टाठो’ मान्छे खोज्ने हो भने चाहीँ आफ्नो दलमात्रै होइन, अरु दल र केही विदेशी शक्ति केन्द्रहरु (खासमा बहुपक्षीय दातृ निकायहरु)लाई समेत रिझाउन सक्ने पात्र गभर्नरका लागि बढ्ता उपयोगी हुनसक्छ । यही पात्र ‘इतिहासकै सफल’ गभर्नरमध्येमा पर्ने छन् ।

राजनीतिकरणको दुष्चक्र

हाम्रो समाज अहिले राजनीतिकरणको उत्कर्षमा पुगेको छ । त्यसमाथि राजनीतिक संस्कार राम्रो भइदिएन । यस्तो देश र यही परिवेशमा यदि कसैले स्वच्छन्द भएर ‘राम्रो काम’ गर्न खोज्यो भने सम्भव हुँदैन । जुन दलले नियुक्त गरेको हो, उही नै विरोध गर्न थाल्ने छ ।

योग्यताको आधारमा, तर्कका आधारमा, आवस्यकताका आधारमा वा स्वतन्त्रतापूर्वक कुनै गभर्नरले काम गर्न खोज्यो भने उसको पद तत्काल ‘धराप’मा पर्छ ।

अर्को पार्टीको सरकार बनेको छ र ‘पार्टी नीति विपरित’ गभर्नरले त्यसलाई सहयोग गर्न खोज्यो भने आफ्नै दल विरोधमा उत्रिन्छ । राजनीतिक दलहरु आफूलाई ‘विस्वासघात’ गर्ने पात्रप्रति सहनशील छैनन् । उसलाई हटाउन तयार हुन्छन् ।

बरु अर्को दल (जो सरकारमा छ)ले नयाँ मान्छे नियुक्त गरोस् भन्नेमा उनीहरुको समर्थन रहन्छ । ताकी, भिन्न दलको गभर्नरलाई दबाब दिएरै भए पनि ‘काम गराउन’ सकियोस् ।

त्यसपछि ट्रेड युनियनमार्फत् दुःख दिन थालिन्छ । संसदीय समितिहरुमा गभर्नर विरुद्ध उजुरी हाल्न लगाइन्छ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी दर्ज हुन्छ । योग्यताका अनेक बखेडा झिकेर अदालतमा मुद्दा चल्छ । मिडियामा ‘भए—नभएका’ अनेक ‘काण्ड’हरु उजागर हुन थाल्छन् ।

हामीले यस्ता उदाहरण विगतमा पनि बारम्बार देखेका छौँ । त्यसकारण गभर्नरले आफ्नो दल, दलका स्वार्थ र दलको साथलाई केन्द्रमा राखेरमात्रै राष्ट्र बैंकभित्र कार्यकाल पुरा गर्नसक्ने परिस्थिति छ ।

विगतमा विजयनाथ भट्टराईले भोगेको तीतो अनुभव इतिहासको साक्षि छ ।

र अन्त्यमा,

साँच्चै भन्दा नयाँ गभर्नरका लागि ‘योग्यता, दक्षता, क्षमता, विवेक, अनुभव, व्यावसायिकता’ जस्ता शब्दहरु उपयोग गर्न नेपालमा अहिले नै ‘बेला भएको’ छैन । हाम्रो समाज त्यसका लागि तयार छैन । वातावरण बनिसकेको छैन ।

हाम्रो सामाजिक विकास अहिलेकै गतिमा अघि बढ्ने हो भने अबको ४०–५० वर्षपछि यी शब्दहरु ‘उच्चारण’सम्म गर्न उचित होलान् ।

त्यसैले अब बन्ने गभर्नर ५ वर्ष टिक्नु छ भने ‘बलियो राजनीतिक आधार’ भएको व्यक्ति हुनु आवस्यक छ । पार्टीमा राम्रो पकड भएको हुनु जरुरी छ । ताकि उसको दल र ट्रेड युनियनले पदमा टिकाइराख्न भूमिका खेलोस् । पार्टी भित्रका विभिन्न खेमा र गुटहरुमा पनि संयोजन गरिराख्न सक्ने व्यक्ति भयो भने कम्तिमा उसको कार्यकालको स्थायित्व सुनिश्चित हुन्छ ।

वित्तीय स्थायित्व र अर्थतन्त्रको उन्नयन त्यसपछि खोजौँला, पहिले गभर्नरको स्थायित्व सुनिश्चित गरौँ ।


प्रतिक्रिया दिनुहोस्