हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।
नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट गरेका छन् ।
“आशा गछौँ, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्”, प्रधानमन्त्री ओलीले भने, “ हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।”
जलवायु परिवर्तन अहिले सबैभन्दा ठूलो चुनौती भएको उनले बताए । ‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन। यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो। यसले सबै थोकलाई लपेट्छ— हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि । कुनै पनि राष्ट्र यसबाट अछुतो छैन। कुनै पनि समाज पूर्ण सुरक्षित छैन। तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन्’ उनले भने ।
अब लगानीमा नयाँ बाटो रोज्नुपर्ने उनले बताए । ‘नयाँ लगानी, र, क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य गरिनुपर्छ । हरित, उत्थानशील र दीगो भविष्य—रोजाइ मात्र होइन। अघि बढ्ने एकमात्र बाटो हो’ उनले भने ।