राष्ट्र बैंकको ‘बागडोर’ अब डा. पौडेलको हातमा, १८औं गभर्नर बनेका पौडेल को हुन् ? « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

राष्ट्र बैंकको ‘बागडोर’ अब डा. पौडेलको हातमा, १८औं गभर्नर बनेका पौडेल को हुन् ?



काठमाडौं । करिब डेढ महिनादेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा अन्ततः डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई १८औं गभर्नरका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । लामो समयदेखि चलेको राजनीतिक रस्सा-कस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति जुटेपछि डा. पौडेलले गभर्नरमा बाजी मारेका हुन् ।

गभर्नर छनोट सिफारिस समितिले डा. पौडेलसँगै राष्ट्र बैंककी कामू गभर्नर डा. निलम ढुङ्गाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । तर, निर्णय डा. पौडेलको पक्षमा गएको हो ।

राजनीतिक सहमति पहिले नै भइसकेको हुँदा बाँकी दुई नाम केवल प्रक्रियागत औपचारिकताका लागि मात्र मन्त्रिपरिषदमा पठाइएको हो । गभर्नर नियुक्तिको विषय यसपटक सामान्य प्रशासनिक प्रक्रिया नभई सत्ता साझेदार ठूला राजनीतिक दलहरूबीचको सहमतिमा निर्भर रहेको स्पष्ट भएको छ ।

उनी गभर्नर चयनका लागि गठित सिफारिस समितिका सदस्य पनि थिए । तर, नेपाली कांग्रेसको प्रस्तावमा उनी गभर्नरका उम्मेदवार बनेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । अर्थशास्त्रीका रूपमा लामो अनुभव रहेका पौडेल मौद्रिक तथा राजस्व नीतिबीच समन्वय र नीति निर्माणमा समेत सक्षम ठानिन्छन् ।

दीर्घकालीन मौद्रिक तथा राजस्व नीतिमा अनुभव प्राप्त अर्थशास्त्री हुन् । उनले आर्थिक नीति निर्माणमा विशेषज्ञता राख्ने व्यक्ति भनेर चिनिँदै आएका छन् । नीति समन्वय, वित्तीय स्थायित्व, मुद्रास्फीति नियन्त्रण र डिजिटल अर्थतन्त्रको विस्तारमा उनीमाथि ठूलो जिम्मेवारी पर्नेछ ।

अब स्थायी नेतृत्व पाएको राष्ट्र बैंकले आगामी मौद्रिक नीतिसँगै आन्तरिक सुधारको गति लिने अपेक्षा गरिएको छ । वित्तीय क्षेत्रमा विश्वास पुनःस्थापना गर्न र आम जनताको आर्थिक सुरक्षामा जोड दिन गभर्नरको भूमिका अझै निर्णायक हुनेछ ।

डा. पौडेलले कार्यकालमा विशेषगरी बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधान, वित्तीय अनुशासन र नियमन सुदृढीकरण, डिजिटल भुक्तानी प्रणालीको विस्तार र प्रवद्र्धनमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

को हुन् उनी ?

चितवनमा जन्मिएका डा. पौडेलले प्रारम्भिक शिक्षा नेपालमै पूरा गरे । त्यसपछि उनी उच्च शिक्षाको खोजीमा चीन पुगे, जहाँ उनले इन्जिनियरिङ अध्ययन पूरा गरेका थिए ।

अध्ययनको सिलसिलामा अमेरिका पुगेका उनी राइस विश्वविद्यालय हुँदै युनिभर्सिटी अफ क्यालिफोर्निया, अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि (पिएचिडी) प्राप्त गरेका हुन् ।

उनी इतिहास र अर्थशास्त्रप्रति गहिरो चासो राख्छन् । शैक्षिक तथा अनुसन्धानमा सशक्त उपस्थिति जनाएका डा. पौडेलको करियर यत्तिमा सीमित छैन । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मा आर्थिक सल्लाहकारको रूपमा काम गरिसकेका छन् ।

त्यस्तै, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव बोकेका छन् ।

नेपाल फर्किएपछि उनी केही समय एक निजी बैंकमा निर्देशकको रूपमा आबद्ध भए । त्यसपछि उनले योजना आयोगमा डा. स्वर्णिम वाग्ले उपाध्यक्ष हुँदा आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । उनी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा एसोसिएट प्रोफेसर (भिजिटिङ) को रूपमा पनि थिए ।

डा. पौडेल नेपाल सरकारको एक प्रमुख केन्द्रीय निकाय राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत बनिसकेका व्यक्ति हुन् । योजना आयोग विकास योजना, नीति निर्माण, कार्यक्रमको अनुगमन र मूल्याङ्कनको जिम्मेवारी लिन्छ । आयोगको उपाध्यक्ष बन्नु केवल प्रशासनिक जिम्मेवारी मात्र नभई एक प्रतिष्ठाको पद पनि हो, जुन पदमा रहेर पौडेलले काम गरिसकेका छन् ।

डा. विश्व पौडेलको कार्यदक्षता, अन्तर्राष्ट्रिय अनुभव, र शैक्षिक बौद्धिकता राष्ट्रको समग्र विकास योजना निर्माणमा उपयोगी सिद्ध हुनेछ । अनुभवी र विश्वस्त स्रोतहरू मार्फत नीति निर्माण गर्न सक्ने क्षमताले डा. पौडेललाई यो महत्वपूर्ण जिम्मेवारीमा उपयुक्त पात्र बनाएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्