बजेट सन्तुलित छ, कार्यान्वयनपछि जनताले प्रत्यक्ष प्रभाव महसुस गर्नेछन् : मन्त्री खड्का

सिन्धुली । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अफवाह र कुप्रचारको भ्रममा नपरी देशको समृद्धि र विकासमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
सुनकोशी–मरिन ड्राइभर्सन बहुउद्देशीय आयोजनाको निरीक्षणका क्रममा सिन्धुली पुगेका मन्त्री खड्काले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
देशमा सकारात्मक सोच र काम गर्ने इच्छाशक्ति आवश्यक भएको बताए । उनले सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक प्रचारप्रति सचेत रहन पनि आग्रह गरे ।

गृहमन्त्रीमाथि उठेका विवादबारे मन्त्री खड्काले प्रमाणबिना राजीनामा माग्नु अव्यावहारिक भएको उल्लेख गर्दै कानुनी प्रक्रिया नै निर्णायक हुने बताए ।
ऊर्जा बजेटबारे जानकारी दिँदै उनले यो बजेट सन्तुलित भएको र कार्यान्वयनपछि जनताले प्रत्यक्ष प्रभाव महसुस गर्ने दाबी गरे । मन्त्री खड्काले बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री सुरु भइसकेको र निकट भविष्यमा भारत र तेस्रो मुलुकसँग १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य रहेको जानकारी दिए ।
समापनमा मन्त्री खड्काले ‘देश बनाउने अरू होइन, हामी आफैं हौं’ भन्दै सबैलाई संयमित र जिम्मेवार भएर अघि बढ्न अपिल गरे ।