बजेटले खर्च सुधार र कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ : पूर्व मुख्य सचिव डा. अर्याल

काठमाडौं । नेपाल सरकारका पूर्व मुख्य सचिव डा. बैकुन्ड अर्यालले अहिलेको बजेट मार्फत खर्च तर्फ सुधार गर्न खोजिएको बताएका छन् ।
इकोनोमिक्स मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको ‘पोष्ट बजेट डिसकसन’ कार्यक्रममा यस्तो बताएका हुन् ।
बजेटमा संघीय आयोजना ३ करोडभन्दा कमको नहुने मापदण्डको समावेशले खर्चमा सुधारको प्रयास गरेको उनको भनाई छ । यो मापदण्डले बजेट छर्ने प्रवृत्तिमा कमी ल्याउने अपेक्षा गरिएको अर्यालले बताए । तर, नयाँ आयोजनामा लागू हुने भए तापनि पुराना क्रमागत आयोजनाहरूलाई असर नगर्ने उनको भनाई छ ।
त्यस्तै, कृषि क्षेत्रको विषयमा बजेटले सकारात्मकता देखाएको बताए ।
विशेषतः भूमि बैंकको स्थापना, विषादी परीक्षणको व्यवस्था र फलफूल खेतीको प्रोत्साहन लगायतका विषय सकरात्मक रहेको उनको भनाई छ ।
यद्यपि, व्यवसायिक खेतीका लागि सबै इनपुट्सको सुनिश्चितता र आवश्यक स्रोतको उपलब्धता स्पष्ट नभएको भन्दै अर्यालले त्यस्ता पक्षमा अझै सुधारको आवश्यकता देखाएका छन् ।
बजेटमा उल्लेख भएअनुसार सिँचाई र कृषिका कार्यक्रमहरू बीचको समन्वय कमजोर छ । भूमि बैंक स्थापना गर्ने प्रक्रिया कानूनी र संस्थागत दृष्टिकोणले बलियो बनाउनुपर्ने उनको भनाई छ ।