बजेट निर्माणमा लोकप्रियता होइन, आवश्यकता र स्रोत व्यवस्थापन प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट संयम र यथार्थपरक ढंगबाट निर्माण गरिएको बताए ।
बजेटमा मुलुकको वित्तीय अवस्थालाई राम्रोसँग हेक्का राख्दै निर्माण गरिएको बताए ।
इकोनोमिक मिडिया सोसाइटी (इम्सन) द्वारा आयोजित ‘पोष्ट बजेट डिसकसन’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले यसपटक लोकप्रिय बजेटको सट्टा वास्तविक आवश्यकता र स्रोत व्यवस्थापनमा आधारित बजेट निर्माण गरिएको बताए । मुलुकको वित्तीय प्रगति र युवा विकासको सुनिश्चितता गर्न आवश्यक सुधारका कदमहरू बजेटमा समावेश गरिएको उनको दावी छ ।
उनले स्रोत व्यवस्थापनमा देखिएका सीमाहरूको ध्यान राख्नुपर्ने कुरा उल्लेख गरे । उनले भने,‘जसरी अनिवार्य दायित्वको आकार विस्तार हुँदै गएको छ, त्यसको व्यवस्थापनसँगै भौतिक र मानवीय विकासका लागि स्रोत व्यवस्थापनमा प्राथमिकता दिइनुपर्छ र त्यसलाई अधिक प्रतिफलयुक्त तरिकामा खर्च गर्नुपर्छ ।’
यस्तो चुनौतीपूर्ण अवस्थामा सरकारको प्रयास यथार्थपरक बजेट बनाउन र मुलुकको वित्तीय स्थिति सुधार गर्न केन्द्रित भएको बताए । आगामी बजेटको प्राथमिकतामा लोकप्रियता खोज्न भन्दा पनि अनुशासन र स्रोत व्यवस्थापनको दायरालाई विस्तारमा केन्द्रित रहेको पौडेलको भनाई छ ।
उनले यसपटकको बजेट निर्माण निजी क्षेत्र र युवालक्षित रहेको स्पष्ट पारे । उनले भने,‘८० प्रतिशत निजी क्षेत्रको आर्थिक भागीदारी रहेको अर्थतन्त्रलाई थप गतिशील बनाउन यस बजेटमा विशेष ध्यान दिइएको छु ।’
मन्त्री पौडेलले बजेट प्रतिक्रियाबाट उत्साहित भएको र यसले अर्थतन्त्रका सबै क्षेत्रलाई गतिशील बनाउने आशा व्यक्त गरे ।‘बजेट कार्यान्वयनसँगै मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न निश्चित छ’ उनले भने‘बजेटको प्रभावकारिता र कार्यान्वयनमा भएका सुझावहरूलाई आत्मसाथ गरेको छु । आगामी दिनमा कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दछु ।’