स्मार्ट हुलाकको मोडल तयार, नीति अन्तिम चरणमा

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई विश्वस्नीयर, भरपर्दो र द्रुत बनाउन सके राजस्व बृद्धिमा ठुलो टेवा पुग्ने बताए ।
हुलाक सेवा विभागले बुधवार आयोजना गरेको आर्थिक वर्ष २०८१–८२ को प्रगति समीक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम संबोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले हुलाकको कुरिअर सेवा अझै प्रभावकारी बनाउन जोड दिए । उनका अनुसार सबै भन्दा पहिला आधुनिक हुलाक र स्मार्ट हुलाक बनाउन पुरानो ऐन फ्यालेर नयाँ ऐन बनाउनुपर्नेछ । यसको लागि मन्त्रालयले सक्रिय रुपमा लागेको पनि जानकारी दिए ।
साथै, आधुनिक हुलाकको रुप रेखा स्वरुप मन्त्रालयले हुलाक पोलीसि समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले सुनाए ।
पछिल्लो समय इन्टरनेटको दुनियाँमा सेवा छिटो र छरितो ढंगले प्रदान गर्न कर्मचारीले उसै अनुसार दक्षता प्रर्दश गर्नुपर्ने निर्देशनात्मक सुझाव दिए ।
‘यो वर्ष हामी हुलाक ऐन ल्याउछौँ र स्थानीय हुलाक संरचनालाई अझै प्रभावकारी बनाउने योजनाहरुमा लाग्छौँ’, उनले भने,‘यसका लागि कर्मचारीहरुको भरपुर सहयोग र साथ चाहिन्छ ।’ मन्त्री गुरुङले यसै वर्ष भित्र स्थानीय तहमा भएका वडास्तरका हुलाक कार्यालयमा एउटा वा दुई वटा मोटर वाईक साधन उपलब्ध गराउनु पर्ने बताए ।
जनताको सेवा सँग प्रत्यक्ष सरोकार राख्ने हुलाकमा सवारी साधन अनिवार्य हुनुपर्ने र सबै हुलाक कार्यालय आइटि फ्रेन्डली हुनुपर्नेमा पनि जोड दिए ।
आगामी आर्थिक वर्षमा बजेट प्रयाप्त नभएको भएपनि आवश्यकताका आधारमा बजेट थप गर्न र अन्य स्रोतहरु जुटाउन आफुले हरदम प्रयास गर्ने बताए ।
कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधै सकारात्मक रहेको बताउदै हुलाकलाई इकर्मशमा जोड्ने प्रयत्न रहेको बताए ।
विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको घरदैलो सम्मै पुर्याउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताए ।
स्थानीय तहमा रहेका भवनहरु निकै जिर्ण छन् । तिनको संरचनागत निर्माणमा सिमित स्रोत र साधनका बाबजुत पनि विभागले पहल गरेको महानिर्देशक पंगेनीले जानकारी गराए ।