अर्थ, पर्यटन र सामाजिक समितिको बैठक आज, विधेयकहरू माथि छलफल

काठमाडौं । आज अर्थात् असार १९ गते बिहीबारका दिन तीनवटा संसदीय समितिका बैठकहरू तय भएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे सुरु हुने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न प्रस्ताव गरिएको विधेयकबारे संशोधन दर्ता गराएका सांसदहरूसँग छलफल गरिनेछ ।
सोही समयमा बस्ने अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का सन्दर्भमा विषय विज्ञहरूको प्रस्तुति रहनेछ र सो पश्चात छलफल हुनेछ ।
यता, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विभिन्न समसामयिक विषयवस्तुहरूमा छलफल गरिने कार्यक्रम छ ।