औद्योगिक सम्पत्ति संरक्षणमा कानुनी सुधार, एफएओ सँगको साझेदारी विस्तार हुँदै « Arthapath.com
२४ असार २०८२, मंगलबार

औद्योगिक सम्पत्ति संरक्षणमा कानुनी सुधार, एफएओ सँगको साझेदारी विस्तार हुँदै



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र एफएओ सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका र एफएओको प्राविधिक तथा नीतिगत सहयोगले नेपालको कृषि विकास र खाद्य सुरक्षाका लक्ष्यहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

सिँचाइ प्रणालीलाई आधुनिक बनाउने, बाली उत्पादनमा सुधार गर्ने, प्राकृतिक स्रोतहरू दिगो तरिकाले व्यवस्थापन गर्ने र भूकम्प तथा कोरोना महामारीजस्ता विपद्हरूमा प्रभावकारी रूपमा प्रतिक्रिया जनाउनेमा एफएओको सहयोगको लागि धन्यवाद समेत दिए ।

साथै, भविष्यमा नेपाल र एफएआबीचको साझेदारी अझ बलियो र गहिरो हुने विश्वास गर्दै खाद्य सुरक्षा सुदृढ पार्न, ग्रामीण जीविकोपार्जनमा सुधार ल्याउन, विपद् जोखिम न्यूनीकरणका लागि क्षमता निर्माणमा निरन्तर सहयोगको लागि अपेक्षा राखे ।

यसै बीच मन्त्री भण्डारीले नेपालको खाद्य निर्यात, यसमा भोगिरहेको कठिनाई र औद्योगिक वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी समस्याको कानुनी रुपमा समाधान गर्न यस मन्त्रालयबाट औद्योगिक सम्पत्ति विधयेक, २०८२ संघीय संसदमा दर्ता भई विचाराधीन अवस्थामा रहेको समेत जानकारी गराए ।

छलफलको क्रममा एफएओका लागि नेपालका प्रतिनिधि केन शिमिजुले नेपालका कृषि तथा खाद्य प्रणालीमा एफएओको भूमिका र नेपाल सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालका स्थानीय कृषि उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच पुरÞ्याउन निर्यात प्रवद्र्धनमा एफएओको चासो रहेको जानकारी गराए ।

त्यसका लागि औद्योगिक सम्पत्ति संरक्षण अन्तर्गत भौगोलिक संकेतको माध्यमबाट खाद्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्दै क्षेत्रीय र विश्वव्यापी बजारमा पु–याउन सकिने सम्भावना र क्षमता अभिवृद्धि सम्बन्धी सहयोग आदान प्रदान गर्न सकिने बारे छलफल गरे ।


प्रतिक्रिया दिनुहोस्