जल्दै गरेको खाडी: इरान युद्धले निम्त्याउँदै छ विश्वव्यापी प्रलय! « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

जल्दै गरेको खाडी: इरान युद्धले निम्त्याउँदै छ विश्वव्यापी प्रलय!



आफ्नो सामरिक स्वार्थका लागि इरानमाथि अमेरिका र इजरायलले गरेको दुस्साहसपूर्ण आक्रमणले खाडी क्षेत्रलाई मात्र होइन, सिंगो विश्वलाई नै अनिकाल र आर्थिक संकटको एउटा भयानक सुरुङतर्फ धकेलिदिएको छ ।

काठमाडौँ । आज पश्चिम एसियाको आकाशमा जुन धुवाँ र बारुदको मुस्लो देखिएको छ, त्यो कुनै आकस्मिक घटना होइन। यो त दशकौँदेखि अमेरिकाले आफ्नो एकलौटी वर्चस्व कायम राख्न बुनेको एउटा खतरनाक रणनीतिको परिणाम हो।

इरानको सार्वभौम धर्ती र यसको प्राकृतिक स्रोतमाथि नियन्त्रण जमाउने वासिङ्टनको दाउपेचले आज सिंगो विश्वलाई एउटा यस्तो युद्धको सुरुङमा धकेलिदिएको छ, जहाँबाट निस्कने कुनै सुरक्षित बाटो देखिँदैन।

इजरायललाई अगाडि सारेर इरानको ‘दक्षिण पार्स’ जस्तो विश्वकै ठूलो ग्यास क्षेत्रमा गरिएको हमलाले केवल एउटा देशलाई मात्र होइन, सम्पूर्ण विश्वको उर्जा सुरक्षालाई नै चुनौती दिएको छ।

अमेरिकाले आफ्ना हतियार व्यापारी र तेल माफियाहरूको हितका लागि पश्चिम एसियाको शान्तिलाई बलि चढाएको छ। इरानको नौसैनिक अड्डा र उर्जा केन्द्रहरूमा भएका यी श्रृङ्खलाबद्ध प्रहारहरूले तेहरानलाई मात्र होइन, छिमेकी कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) लाई पनि युद्धको रापमा तानेको छ।

कतारको रास-लाफान ग्यास केन्द्रमा भएको भीषण क्षति र साउदीका रिफाइनरीहरूमा लागेको आगोले यो स्पष्ट पार्छ कि वासिङ्टनको युद्धासक्तिले अब कसैलाई बाँकी राख्नेवाला छैन।

अन्धकारतर्फ धकेलिँदै गरेको विश्व

अमेरिका र इजरायलको यो संयुक्त दुस्साहसले विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने उर्जा आपूर्तिलाई क्षतविक्षत पारिदिएको छ। कतार, जसले विश्वको २० प्रतिशत एलएनजी आपूर्ति गर्छ, त्यसको मुख्य प्लान्ट ध्वस्त पारिनुले विशेषगरी युरोपेली मुलुकहरूलाई जाडोयाममा कठ्याङ्ग्रिन बाध्य पार्ने देखिन्छ।

इरानले आत्मरक्षाका लागि चालेका कदमहरूका कारण होर्मुज जलमार्ग बन्द हुनुले विश्व बजारमा तेलको मूल्य प्रति ब्यारल १०० डलर नाघेर आकाशिएको छ। यो मूल्यवृद्धि अझै चुलिएर छिट्टै नै प्रतिब्यारेल २०० डलर पुग्ने अनुमानहरुले त विकासोन्मुख देशहरूको अर्थतन्त्रलाई टाट पल्टाउने निश्चित छ।

अष्ट्रेलियाले ‘इन्धन आपूर्ति कार्यदल’ गठन गर्नु र कुवेतले आफ्नो आकाशमा अज्ञात ड्रोनहरू खसाल्नुले युद्धको राप कति टाढासम्म पुगेको छ भन्ने पुष्टि गर्छ।

अमेरिकाले आफ्नो भू-राजनीतिक स्वार्थका लागि इरानको आर्थिक मेरुदण्ड भाँच्ने जुन प्रयास गर्यो, त्यसको प्रत्यक्ष मार अहिले विश्वका साधारण उपभोक्ताहरूले भोग्नुपरिरहेको छ। वासिङ्टनमा बसेर युद्धको रिमोट चलाउनेहरूले यो बुझ्न चाहेनन् कि उर्जा केन्द्रमा लागेको एउटा सानो झिल्काले विश्वव्यापी आर्थिक डढेलो लगाउन सक्छ।

कहाँ कति भयो मानवीय क्षति ?

मल अभाव र आगामी अनिकाल

यो युद्ध केवल तेल र ग्यासमा मात्र सीमित छैन; यसले मानव सभ्यताकै सबैभन्दा ठूलो संकट अर्थात् भोकमरीको बिउ रोपेको छ। पश्चिम एसिया विश्वको झण्डै आधा युरिया र रासायनिक मल आपूर्ति गर्ने केन्द्र हो।

इरानको उर्जा क्षेत्रमा भएको आक्रमण र कतारको मल कारखाना बन्द भएसँगै विश्वभर रसायनिक मलको अभाव चुलिएको छ। भारत, चीन र ब्राजिलजस्ता कृषिप्रधान देशहरूले आफ्ना मल कारखानाहरू बन्द गर्नुपर्ने अवस्था आएको छ।

वसन्त ऋतुको बाली लगाउने मुख्य समयमा भएको यो अवरोधले आगामी वर्ष विश्वमा खाद्यान्न उत्पादनमा भारी गिरावट ल्याउने निश्चित छ। अमेरिकाको ‘एकलौटी हित’ का लागि गरिएको यो युद्धले अब विश्वका करोडौँ मानिसहरूलाई भोकै सुत्न बाध्य पार्नेछ।

यो केवल इरानविरुद्धको युद्ध होइन, यो त विश्वका गरिब र श्रमजीवी जनताको थालविरुद्ध गरिएको युद्ध हो। रासायनिक मलको मूल्यमा भएको ७० प्रतिशतसम्मको वृद्धिले कृषि क्षेत्रलाई नै ध्वस्त बनाउने चेतावनी विज्ञहरूले दिइरहेका छन्।

मानवीय संवेदनाको अन्त्य

युद्धको मैदानमा रगत बगिरहँदा ह्वाइट हाउस भने निकै रहस्यमयी र दोधारे भूमिकामा देखिएको छ। अमेरिकी सेनाको प्रत्यक्ष समर्थन र आधुनिक हतियार बिना इजरायलले यति ठूलो आक्रमण गर्ने आँट नै गर्न सक्दैनथ्यो। लेबनानको बेरुतदेखि इराकको निनवेह मैदानसम्म भइरहेका हवाई हमलामा मारिएका निर्दोष बालबालिका र सर्वसाधारणको रगतको टाटा वासिङ्टनको हातमा पनि लागेको छ।

लेबनानमा मात्र पछिल्लो दुई दिनमा ४५ जनाको ज्यान जानु र इराकमा इरान समर्थित सुरक्षा बलका क्याम्पहरूमा बम बर्षिनुले यो युद्धलाई क्षेत्रीय महासंग्राममा परिणत गरिदिएको छ।

इरानी विदेशमन्त्रीले टर्की, इजिप्ट र पाकिस्तानसँग गरेका संवादहरूले यो संकेत गर्छन् कि अब एसियाली मुलुकहरू पश्चिमी हस्तक्षेपका विरुद्ध एक हुने कोसिसमा छन् ।

संघारमा अझै भयानक दिनहरू

यो त केवल सुरुवात मात्र हो। यदि अमेरिकाले आफ्नो जिद्दी नछोड्ने र इजरायललाई लगाम नलगाउने हो भने आगामी दिनहरू अझै रक्तपातपूर्ण हुनेछन्। पश्चिम एसियाको यो डढेलोले जब विश्वको शेयर बजार, तेल भण्डार र खाद्यान्न गोदामहरू स्वाहा पार्नेछ, तब मात्र विश्वले महसुस गर्नेछ कि एउटा महाशक्तिको ‘नाजायज स्वार्थ’ कति महँगो सावित भयो।

इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा रहेको १३ वर्षसम्म विश्वलाई पुग्ने ग्यास भण्डारमाथि जुन आँखा लगाइएको छ, त्यसले मानवतालाई समृद्धितर्फ होइन, विनाशको गहिरो खाडलतर्फ धकेल्ने निश्चित छ। अबको प्रश्न यो मात्र हो- के विश्व समुदायले यो युद्ध र नियन्त्रणको उन्मादलाई कसैगरी बीचैमा रोक्न सक्ला?

-एजेन्सीहरुको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्