राजकीय जिम्मेवारीबाट बिदा हुँदै प्रधानमन्त्री कार्की, बालुवाटारबाट सामान टोखा सारियो
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो राजकीय जिम्मेवारीबाट अलग हुने तयारी अन्तिम चरणमा पुराएकि छिन् । आगामी शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहको नियुक्ति र शपथ ग्रहणको कार्यक्रम तय भएसँगै कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनौपचारिक रूपमा बिदा लिएकी हुन् ।
कार्कीको परिवारले बालुवाटारस्थित सरकारी निवासबाट आफ्ना निजी सामानहरू टोखास्थित निजी निवासमा सारिसकेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण लगत्तै उन सिधै टोखा जाने योजना छ । कर्मचारीहरूले औपचारिक बिदाइको प्रस्ताव गरे पनि कार्कीले त्यसलाई अस्वीकार गर्दै अनौपचारिक रूपमै बिदा हुने इच्छा व्यक्त गरिन् ।
अब पूर्वप्रधानमन्त्रीको हैसियतमा रहने भएकाले कार्कीको सुरक्षाका लागि टोखा निवासमा सुरक्षाकर्मीको थप टोली परिचालन गर्ने तयारी समेत भइरहेको छ । निर्वाचनपछिको नयाँ राजनीतिक समीकरणसँगै बालेन शाहले सत्ता सम्हाल्ने तयारी गरेपछि कार्कीले पद छाड्न लागेकि हुन् ।













