सन् २०२० मा भारतको बजेट ३०.४२ लाख करोड, नेपाललाई दिने अनुदान घटाईयो « Arthapath.com
२० माघ २०७६, सोमबार

सन् २०२० मा भारतको बजेट ३०.४२ लाख करोड, नेपाललाई दिने अनुदान घटाईयो



काठमाडौं । भारत सरकारले सन् २०२० का लागि १० प्रतिशत आर्थिक वृद्धि लक्ष्यसहित बजेट ल्याएको छ । ३०.४२ लाख करोड भारतीय रुपैयाँबराबरको बजेट भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा पेस गरेकी हुन् । भारत प्रस्तुत गरेको बजेटमा कतिपय वस्तुको आयातमा कर बढाएको छ भने कतिपयमा घटाएको छ । जसलेगर्दा नेपालीको जनजीवनमा समेत प्रभाव पर्ने देखिएको छ ।

बजेटमा कृषि, स्वदेशी उत्पादन, शिक्षाको गुणस्तर, पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिइएको छ । पछिल्लो समय सुस्त देखिएको भारतीय अर्थतन्त्रलाई गति दिन औद्योगिक उत्पादनदेखि पूर्वाधार क्षेत्रमा पनि उल्लेख्यीय बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशतको हाराहारीमा रहने अनुमानकै बीच अर्थमन्त्री सीतारमणले दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने महत्त्वाकांक्षी बजेट ल्याएकी हुन् ।

अघिल्लो बजेटमा नेपाललाई दिने अनुदान बढाएको भारतले यो वर्ष घटाएको छ । नेपाललाई दिने अनुदानमा अघिल्लो वर्षको तुलनामा साढे १ अर्ब भारुले कमी गरिएको छ । यस वर्ष उसले ८ अर्ब भारु (अर्थात् १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) मात्रै अनुदान दिने छ । अघिल्लो वर्ष सुरुमा १०.५ अर्ब भारु अनुदान दिने घोषणा गरेको भारतले पछि २ अर्ब थप गरेको थियो । यसअघि गत फागुनमा पेस गरिएको अन्तरिम बजेटमा नेपालका लागि ७ अर्ब भारु (११.२ अर्ब रुपैयाँ) अनुदान दिने घोषणा गरिएको थियो ।

बटर, तेल, आलु, चुइङ्गम र ओखर महँगो हुने छन्। वाटर फिल्टर, माटोका भाँडकुँडा, कफी र चिया बनाउने मेसिन, टोस्टर, ग्यास चुलो, कुकर महँगो हुनेछन् । भारतबाट आयात गरिने यस्ता सामान नेपाली बजारमा महँगो हुने भएका हुन् । भारतबाटै आयात हुने काँइयो, टेबुल तथा सिलिङ पंखा , वाटर हिटर, किटनासक उपकरण, ताला, हेयर ड्रायर र कपालमा लगाइने पिन तथा क्लिप पनि महँगो हुने भएको छ । माणिक, पन्ना, नीलमजस्ता धातुहरू पनि महँगो हुनेछ भने खेलौना, स्टेशनरी सामाग्री, नक्कली फूल र गुट्खा पनि महंगिने भएका छन् । पत्रपत्रिका छापिने कागज, खेलको सामान, माइक्रोफोन, प्लास्टिक र केमिकल्स भने सस्तो हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्