परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूत बीच भेटवार्ता « Arthapath.com
२२ माघ २०७६, बुधबार

परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूत बीच भेटवार्ता




काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड (Elisabeth von Capeller Oswald) र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने गरि आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए । स्वीजरल्याण्डले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासमा सहयोग गर्दै आएको छ ।

विशेषगरि नेपालको गलैँचाको उत्पादन र विकास, प्राविधिक शिक्षामा ठुलो योगदान गरेको अध्यक्ष मोरले बताए । उनले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको समेत बताएका छन् । उत्पादनमुलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका थुप्रै सम्भावनाहरु रहेको प्रति राजदूतको ध्यानाकर्षण गराएका थिए । परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उद्योग र ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरुको संरक्षण गर्न परिसंघले स्वीस दूतावाससँग सहकार्य गर्न सक्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्वीजरल्याण्ड र नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण मिलाउन आफु तयार रहेको बताएका छन् । उनले नेपालमा लगानी गर्नको लागि प्रथामिकतामा राखेको बताए । वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य गर्ने प्रतिवद्धता पनि राजदूत ओस्वाल्डले गरे ।

भेटवार्तामा परिसंघका प्रवुद्ध परिषद (थिंक ट्याङ्क) का संयोजक डा. शम्भुराम सिंखडालेले नेपालमा राजनीतिक अस्थिरता नरहेकाले लगानीको वातावरण गएको बताए । उनले स्वीस लगानीकर्ताहरुलाई प्रेरित गर्न पनि राजदूत समक्ष आग्रह गरे । ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमा समेत स्वीस लगानीकर्ताका लागि उपयुक्त समय आएको बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्