एनआरएनएका अध्यक्ष पन्तले भने १० अर्ब लगानी नेपाल आउँदै छ « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

एनआरएनएका अध्यक्ष पन्तले भने १० अर्ब लगानी नेपाल आउँदै छ



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए)का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताएका छन् । गैरआवासीय नेपाली संघ युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत पुगेका पन्तले आयोजित एक विशेष समारोहलाई सम्वोधन गर्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए ।

पन्तले आफूले नेतृत्व लिँदा संघभित्र चुनौतिका पहाड छेडेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको वताए । पन्तले गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले संघलाई फसाएको बताए । उनले भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

पन्तले विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकता बन्ने निश्चित भएको बताए । “अहिले गैरआवासीय नेपालीसम्बन्धी नागरिकताको बिषय संसदीय समितिमा छ त्यो अनुमोदन भएपछि नागरिकता पाउने निश्चित छ, पन्तले भने ।”


संघका महासचिव डा. हेमराज शर्माले विगत ३ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारे । उनले गैरआवासीय नेपाली संघ अब स्मार्ट एनआरएनको रुपमा विस्तार गरिने जानकारी दिए । संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको जनाए ।
कार्यक्रममा स्वागत मन्तव्य दिदैं गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले विगत ५ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारिन । उनले एनआरएनलाई राम्रो एनआरएन बनाउने प्रयत्न गर्ने बताइन । गुरुङले समुदायका सबै पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाइन् । 



कार्यक्रम संयोजक तथा संस्थापक मध्यका एक रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघ युकेको इतिहास खोतल्ने प्रयास गरेका थिए । कार्यक्रममा पत्रकार नरेन्द्र बस्नेतले तयार परेको श्रव्य दृष्यको प्रदर्शन गरिएको थियो । 


कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्वमहासचिव तथा आइसीसी सदस्य भक्त गुरुङले गैरआवासीय नेपाली संघ मुनाफारहित संस्था भएको बताए । उनले भातृभूमिका लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर स्थापना भएको जनाए ।

उनले गैरआवासीय नेपाली संघ कुनै धार्मिक तथा राजनीतिक संस्था नभएको बताउँदै सबैको छाता संस्थाको रुपमा विस्तार गर्नु पर्ने जोड दिए ।
कार्यक्रम अर्का पूर्वमहासचिव कृष्ण उपाध्यायले गैरआवासीय नेपाली नागरिकताको मुद्दा सबैको साझा भएको भन्दै गैरआवासीय नेपाली नागरिकताले सबै पक्षलाई समेटेर लैजाने बताए । गैरआवासीय नेपाली संघको सदस्यता चुनावमुखि भएको भन्दै उपाध्यायले भने, ‘संघले नयाँ पुस्ता र पुराना पुस्तालाई जोड्ने कार्यक्रम ल्याउनु पछ ।’ उनले संगठनको स्वरुपमा समेत परिवर्तन गर्न सुझाव दिए । 


कार्यक्रममा यति नेपाली एसोसियसन युकेका अध्यक्ष धुर्ब केसीले संस्थाको स्थापनाकालको स्मरण गरे । कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघ युकेका सल्लाहकार शिवजी श्रेष्ठले गैरआवासीय नेपाली संघ युकेको गत सेप्टेम्वर महिनामा सम्पनन निर्वाचनमा आर्थिक हिनामिना नभएको वताए । उनले निर्वाचन समितिले गरेको खर्च पूर्ण रुपमा पारदर्शी भएको वताए । 



कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै संघका पूर्वअध्यक्ष महेन्द्र कंडेलले एनआरएनए अभियानमा थुप्रै नेपालीहरुको योगदान गरेको चर्चा गर्दै संघलाई बिघटनको बाटोमा जान दिन नहुने बताए । उनले संघभित्रका व्यक्तिगत तिक्तता मेटाएर अघि बढ्न सुझाव दिए । उनले संस्थाका विवादका विषयलाई आन्तरिक छलफलबाटै टुंग्याउनु पर्नेमा जोड दिए ।
संघका संरक्षक सूर्य गुरुङले शुभकामना दिएका थिए भने कार्यक्रममा सयपत्री कल्चर ग्रुपले विशेष संस्कृतिक कार्यक्रमको प्रस्तुत गरेको थियो ।


कार्यक्रमका प्रमुखअतिथि नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले बेलायत गैरआवासीय नेपाली संघको जननि भूमि भएको कारणले ऐतिहासिक देश भएको बताए । उनले विगत ३ वर्षको आफ्नो कार्यकालमा संघको गतिविधिलाई नजिकबाट नियाल्ने मौका पाएको बताउँदै तेस्रो पुस्ता तयार भइसकेको अवस्थामा दीर्घकालीन कार्यक्रम तय गर्न सुझाव दिए । 

समारोहमा संस्थापक, विभिन्न संघसंस्थाका प्रतिनिधि, केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी, सल्लाहाकार, केन्द्रीय पार्षद लगायतको बाक्लो उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्