सोलारबाट वैशाखभित्रै १५ मेगावाट बिजुली उत्पादन « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

सोलारबाट वैशाखभित्रै १५ मेगावाट बिजुली उत्पादन



काठमाडौं । नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत् आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १० मेगावाट चैत र बाँकी ५ मेगावाट वैशाख भित्रमा उत्पादन गरिने छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी निर्माण अगाडि बढाइएको छ ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ । विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका ३ ठाउँमा ५ मेगावाट विद्युत उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ ।

एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ । देविघाट विद्युत्गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६–३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालु अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था तत्काल गर्न निर्देशन दिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५ वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । त्यतिबेला १ वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटान लगायतका कारणले ढिलाइ भएको घिसिङले बताए । ‘हाम्रै स्वामित्वमा रहेको १ हजारभन्दा बढी रुख हटाउने कानुनी प्रक्रिया पूरा गर्न धेरै समय लाग्यो ।

विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग ३ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै ५ वर्षसम्म गर्ने छ । कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालु अवस्थामा हस्तान्तरण गर्नेछ ।

कम्पनीले प्लान्टबाट वार्षिकरुपमा ३ करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा ९ग्यारेन्टेड इनर्जी० आपूर्ति गर्नुपर्ने छ । सुरुमा जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरेको थियो । तर, परामर्शदाताले डिजाइन स्वीकृतिमा ढिलाइ र रेट बृद्धिको माग गरेपछि फिस्नरसँगको सम्झौताको म्याद थपिएको थिएन । अहिले एनइए इन्जिनियरिङ कम्पनीले परामर्शदाताको काम गरिरहेको छ । प्लान्ट सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्नेछ ।

काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्नेछ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्त आयोजनाको जलाशयमा दिउँंसो पानी सञ्चित गरी ती विद्युत् केन्द्रमा विद्युतको माग बढी हुने बेलुका र बिहान ९पिक समय० सञ्चालन गर्न मद्दत पुग्नेछ । जसले पिक समयको विद्युत् माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ ।


प्रतिक्रिया दिनुहोस्