जीवन बीमा कम्पनीले ७ र निर्जीवनले २१ दिनभित्र दाबी भुक्तानी गरिसक्नुपर्ने « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

जीवन बीमा कम्पनीले ७ र निर्जीवनले २१ दिनभित्र दाबी भुक्तानी गरिसक्नुपर्ने



काठमाडौं । अब जीवन बीमा कम्पनीले ७ दिनभित्र र निर्जीवन बीमा कम्पनीले २१ दिनभित्र बीमा दाबी भुक्तानी गर्नुपर्ने भएको छ ।

बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउने उद्देश्यले ‘बीमा दाबी भुक्तानी मार्गदर्शन–२०७६’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । बीमा दाबी भुक्तानीमा बीमा कम्पनीहरूले ढिलासुस्ती तथा आलटाल गर्ने गरेको गुनासो बढेपछि समितिले मार्गदर्शन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

मार्गदर्शनअनुसार हरेक बीमकले विभागीय प्रमुखसहित आवश्यक कर्मचारी नियुक्त गरी दाबी विभाग गठन गर्नुपर्ने छ । सो विभागले आवश्यक कागजात जाँचबुझ गरी जीवन बीमा कम्पनीको हकमा निवेदन दिएको ७ दिनभित्र र निर्जीवन बीमा कम्पनीको हकमा दावी भुक्तानीका लागि निवेदन दिएको २१ दिनभित्र भुक्तानी गरिसक्नु पर्नेछ ।

यस्तै, जीवन बीमा कम्पनीले आफ्नो कम्पनीमा बीमालेख परिपक्क भएको १५ दिनभित्र सक्कल बीमालेख र परिचयपत्र खुल्ने कागजात सहित भुक्तानी लिन आउन बीमितको नाममा सूचना जारी गर्नुपर्नेछ ।

मार्गदर्शनअनुसार निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीको हकमा आवश्यक कागजात प्राप्त भई दायित्व ठहर भएको २१ दिनभित्र दाबी भुक्तानी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्दा अनिवार्यरुपमा बीमित वा हकवालाको बैंक खातामा अकाउन्टपेयी चेकद्वारा मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्