चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल वुहानमा « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल वुहानमा



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल वुहान पुगेका छन । कोभिड–१९ को संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन ।

गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानीबाट कोभिड–१९ को संक्रमण सुरु भएको थियो । कोभिड–१९ को संक्रमण घट्दै गएपछि राष्ट्रपति सी वुहान पुगेका हुन । उनले वुहानमा कोभिड–१९ प्रभावित क्षेत्रको भ्रमण गरेका छन । उनले वुहानका स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई पनि भेट्ने चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।

सोमबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको थियो । सोमबार चीनमा डिसेम्बरबाट संक्रमण फैलिएयताकै सबैभन्दा कम १९ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये वुहानमा १७ जना र दुई जना बाहिरबाट आएका नागरिकमा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ । त्यस्तै सोमबार १७ जनाको मात्रै मृत्यु भएको पनि स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

मंगलबार बिहानसम्म चीनमा ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यसमध्ये ६० हजारभन्दा बढी निको भइसकेका छन् । त्यस्तै मंगलबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट ३ हजार एक सय ३६ को मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्