तेलको अन्तर्राष्ट्रिय मूल्य ६८% घट्दा नेपालमा ९% मात्र घट्यो « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

तेलको अन्तर्राष्ट्रिय मूल्य ६८% घट्दा नेपालमा ९% मात्र घट्यो



काठमाडौं । कच्चा तेलको मूल्य वृद्धि हुँदा बढाउने नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घट्दा भने तुलनात्मक रूपमा घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ६८ प्रतिशत घट्दा आयल निगमले डिजेल र मट्टीतेलको मूल्य नौ प्रतिशत मात्र घटाएको छ । नेपालमा आयात हुने पेट्रोलियममध्ये ६० प्रतिशत डिजेल हुन्छ, जो सार्वजनिक यातायात र उत्पादनमूलक उद्योगमा खपत हुन्छ ।

पछिल्लो पाँच वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल ६८ प्रतिशत घटेको छ । असार ०७१ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९१५९ लिटर० १०६ अमेरिकी डलर थियो । त्यतिवेला नेपालमा पेट्रोलको मूल्य एक सय ३४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०५।८५ थियो । तर, हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रतिब्यारेल ३४ डलर कायम हुँदा नेपालमा पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ छ भने डिजेलरमट्टीतेलको मूल्य ९५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ७२ डलर घट्दा आयल निगमले सार्वजनिक सवारीसाधनले प्रयोग गर्ने डिजेल र विपन्न जनताले प्रयोग गर्ने मट्टीतेलमा १० रुपैयाँ मात्र घटाएको छ ।

पछिल्लो समयमा पनि जनवरीयता कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । जनवरीमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६५ डलर थियो । त्यसयता मात्रै आधा नै मूल्य घटेर ३४ डलर भएको छ । तेल उत्पादन गर्ने दुई ठूला देश साउदी अरेबिया र रसियाबीचको प्रतिस्पर्धाले अहिले मूल्यमा गिरावट आएको हो । तेल उत्पादन कटौती गर्नुपर्ने साउदीको प्रस्तावलाई रसियाले नकारेपछि दुवै देशले उत्पादन बढाउँदा मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा घटेपछि भारतले समेत आन्तरिक बजारमा मूल्य घटाएको छ ।

इन्डियन आयल कार्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पनि सोमबार पेट्रोलमा ७.७२ र डिजेलमा ७.३५ रुपैयाँ प्रतिलिटर घटाएर पठाएको छ । यसअघि आइओसीले पेट्रोल ५२.४९ रुपैयाँ र डिजेल ५७.०७ रुपैयाँ प्रतिलिटरका दरले पठाउँदै आएकोमा सोमबार पेट्रोल ४४.७६ र डिजेल ४९.७२ प्रतिलिटरका दरले पठाएको छ ।

सोमबारै मूल्य समायोजन गर्दैे निगमले नेपाली उपभोक्तालाई पेट्रोल र डिजेलमा जम्मा दुई–दुई रुपैयाँ मात्रै घटाएको छ । नेपालमा जनवरीमा पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ रहेकोमा अब १ सय ६ र डिजेल–मट्टीतेल १ सय रुपैयाँ रहेकोमा अब ९५ रुपैयाँ कायम भएको छ । जब कि यसबीचमा अन्तर्राष्ट्रिय मूल्य आधा घटेको छ । आफैँ इन्धनको भाउ तोक्न पाउने स्वचालित मूल्य प्रणालीलाई निगमले उपभोक्ता शोषण गर्ने हतियार बनाएको छ । ०७१ मा यो प्रणाली लागू गर्दा निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन हुने र अन्तर्राष्ट्रिय भाउअनुसार नै घटबढ हुने घोषणा गरेको थियो । तर, समायोजनमा उपभोक्तालाई कहिल्यै न्याय दिएको छैन ।

स्वचालित मूल्य प्रणाली लागू गरेको तीन महिनापछि २३ पुस ०७१ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४७ प्रतिशतले घटेर ५१.१० डलरमा झरेको थियो । तर, पेट्रोलको भाउ २० रुपैयाँ मात्र घटेर ११३.५० र डिजेलको भाउ १५ रुपैयाँ मात्र घटेर ९० रुपैयाँ कायम भएको थियो । इन्धनको मूल्य नघटाउन आयल निगमले त्यतिखेर मूल्य स्थिरीकरण कोष खडा गरेर त्यहाँ प्रतिलिटर पेट्रोलबाट १०.२४ र डिजेलबाट १०.२२ रुपैयाँ राख्दै आएको थियो । जसकारण असोजमा सुरु गरिएको प्रणालीबाट चैत मसान्तसम्म आइपुग्दा कोषमा २ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको थियो । यो अवधिमा आयल निगमले प्रतिमहिना कम्तीमा ५० करोड नाफा राखेर इन्धनको मूल्य समायोजन गरेको थियो । त्यतिखेर मूल्य समायोजन गर्दा कम्तीमा पेट्रोलमा १२ प्रतिशत र डिजेलमा १ प्रतिशत नाफा राखिने गरिएको थियो ।

नाकाबन्दीपछि ९० दिनलाई तेल पुग्ने भण्डारण बनाउने योजना थियो, अहिलेसम्म सुरु भएन

आयल निगमले १८ पुस ०७५ मा मूल्य समायोजन गर्दा इतिहासमै सबैभन्दा बढी नाफा राखेको थियो । निगमले त्यतिखेर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान २ रुपैयाँ मात्रै घटाएर १५ दिनमै १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा सुनिश्चित गरेको थियो । मूल्य समायोजनपछि बजारमा पेट्रोल १०८ र डिजेल तथा मट्टीतेल ९५ रुपैयाँ प्रतिलिटर कायम भएको थियो । त्यसअघि ३ पुस ०७५ मा मूल्य समायोजन गर्दा पनि निगमले ८८ करोड २२ लाख रुपैयाँ नाफा राखेको थियो ।

१५ दिनमा एक अर्ब रुपैयाँभन्दा बढी नाफा पटकपटक दोहोरिएको छ । १९ माघ ०७५ मा पनि दुई–दुई रुपैयाँ मूल्य वृद्धि गरी पेट्रोल ११० र डिजेल र मट्टीतेल ९७ रुपैयाँ र्पुयाइएको थियो । यो मूल्य वृद्धिपछि निगमलाई १५ दिनमै १ अर्ब १६ करोड रुपैयाँ नाफा भएको थियो । १६ असार ०७६ मा मूल्य समायोजन गर्दा पनि निगमले १५ दिनमा ८९ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, यति नाफा गर्दा पनि निगमले आफ्नो पूर्वाधार निर्माणमा ध्यान दिएको छैन । नाकाबन्दीपछि पाठ सिकेको भन्दै ९० दिनलाई पुग्ने भण्डारगृह बनाउने भनिएको थियो, तर अहिलेसम्म निर्माणसमेत सुरु भएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि भारतले शनिबारबाट लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर ३ भारु अन्तःशुल्क वृद्धि गरेको छ । भारतले करमा वृद्धि गरेपछि पेट्रोलियम क्षेत्रबाट प्राप्त हुने राजस्वमा झन्डै ४ खर्ब भारु वृद्धि हुने सरकारको अनुमान छ । यसरी वृद्धि भएको करको भार खुद्रा मूल्यमा नजोडिने भएकाले उपभोक्तालाई असर नपर्ने भारत सरकारको दाबी छ ।

भारत सरकारले करको दरमा ठूलो वृद्धि गरे पनि सरकारी तेल कम्पनीहरूले भने खुद्रा मूल्य घटाएका छन् । नेपालमा पनि ठीक यस्तै गरी १२ फागुनबाट सरकारले पेट्रोलियम कर वृद्धि गरेको थियो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर वृद्धि गरेको हो । यस्तो कर आर्थिक वर्ष ०७२र७३ देखि सुरु गरिएको थियो । त्यतिवेला प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाइएकोमा १२ फागुनदेखि बढेर १० रुपैयाँ र्पुयाइएको छ । भारतमा जस्तै नेपाली अधिकारीहरूले पनि करको भार उपभोक्ता मूल्यमा नपर्ने दाबी गर्दै आएका थिए । तर, सोमबार भारतले घटाएर पठाएको मूल्यमा निगमले पाँच रुपैयाँ नाफा राखेर मात्रै समायोजन गरेको छ । निगमले यही कर जोडेकाले उपभोक्ता मूल्य कम घटेको हो । नयापत्रिकाबाट


प्रतिक्रिया दिनुहोस्