कोभिड १९ विरुद्ध सामूहिक प्रयासको खाँचो: मुख्यमन्त्री पौडेल « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

कोभिड १९ विरुद्ध सामूहिक प्रयासको खाँचो: मुख्यमन्त्री पौडेल



हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो रहेको बताएका छन् ।

“प्रदेश सरकारले कारोनाविरुद्धको अभियान जारी राखेको छ । यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाको थप साथ र सहयोग आवश्यक छ,” उनले भने । मुख्यमन्त्री निवासमा प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्राप्त सहयोग रकम ग्रहण गर्दै मंगलबार मुख्यमन्त्री पौडेलले आर्थिक सहयोग गर्ने सबै संघसंस्थालाई धन्यवाद दिए ।

यसैबीच उपचार कोषमा सोमबार र मंगलबार गरी २० लाख रुपैयाँ संकलन भएको छ । कोषमा हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको गोर्खा लहरी प्रालिले १० लाख र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सात लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ । कोषमा हेटौंडा खानेपानी बोर्डले तीन लाख रुपैयाँ सहयोग गरेको छ । बोर्डका अध्यक्ष प्रताप विष्ट र कार्यालय प्रमुख सुदर्शन ढकालले मुख्यमन्त्री पौडेललाई तीन लाख १९ हजारको चेक मंगलबार हस्तान्तरण गरेका हुन् । गोर्खा लहरी प्रालिले जिल्ला समन्वय समितिको कोषलाई समेत एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

वागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लकडाउनका समयमा प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरेको जनाएको छ । प्रदेशमा चामल ११ हजार दुई सय ९०, दाल दुई हजार ६ सय, चिनी तीन हजार नौ सय २३ र नुन ३२ हजार टन मौज्दात रहेको तथा खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिन्डर मौज्दात रहेको तथा बिक्री वितरण र आपूर्ति सहज रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिए ।

आपूर्ति व्यवस्थापनका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा सहायता कक्ष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याई सेवा प्रवाह गरिरहेको जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्