सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी, हतियार र नगद बरामद « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी, हतियार र नगद बरामद



कञ्चनपुर । भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ ।

सीमा क्षेत्रमा घुसपैठ गरी भारतबाट नेपाल फर्कने क्रम रोक्न थप सशस्त्र प्रहरी परिचालन गरिएको हो । एक पोष्टमा २० जवान रहने गरी सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरी उपरीक्षक शाहुले बताउनुभयो । हाल पुर्नवासदेखि खल्लामुसेट्टीसम्म अस्थायी पोष्ट राखिएको छ भने मुख्य नाकामा पहिलेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतबाट फर्केका बेदकोटकाका ४२ वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सीमानाकामा कडाइ गरिएको छ ।

हतियार र नगद बरामद
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल३सिसीआर ३९९७ भारतीय नंको टोयटा फर्चुन गाडीबाट मङ्गलबार साँझ सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार गाडीबाट प्वाइन्ट टुटु एलआर बन्दुक एक थान, त्यसमा लाग्ने गोली १४ थान र एयरगन एक थान र सोको छर्रा १९६ बरामद गरिएको छ ।

सोही गाडीबाट नेपाली एक हजारको नोट ७१ हजार, ५०० का नोट पाँच हजार ५०० बरामद गरिएको छ । अवैध हतियार र नगद रकमसहित छ बैंकका एटीएम कार्डसमेत बरामद गरिएको छ । बरामद गाडी कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु शाहीको रहेको बताइएको छ । बरामद गाडी, हतियार, नगद रकम र एटीमकार्ड इलाका प्रहरी कार्यालय गुलरीमा बुझाइएको छ ।

बेरिएर महिलाको मृत्यु

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने थे्रसरको पट्टामा बेरिएर मङ्गलबार मृत्यु भएको छ । गहुँ थ्रेसिङ गरिरहेका बेला दुपट्टा थे्रसरको पट्टामा बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर चोट लागेपछि उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पु¥याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताउनुभयो । मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल पु¥याइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्