किरियापुत्री पनि होम क्वारेन्टाइनमा « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

किरियापुत्री पनि होम क्वारेन्टाइनमा



गोरखा। कोरोना भाइरसको संक्रमण हुनबाट बच्न सामाजिक दुरी कायम गर्न सरकारले आग्रह गरिरहेका बेला गोरखामा भने पारिवारीक दुरी समेत कायम हुन थालेको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आमाको किरिया बसेका छोराहरुले समेत सावधानी अपनाएका छन् ।

सोमबार ९७ वर्षीय श्रीमायाँ भट्टको मृत्यु भएपछि काजकिरिया बसेका ४ छोरा मध्ये काठमाडौँबाट आएका माइला छोरा टेकनीधि भट्ट भने अलगै बस्नुभएको छ । ‘उहाँहरु चारै जना एउटै कोठामा बस्नुभएको छ,’ छिमेकी बिनोद पाण्डेले भन्नुभयो, ‘तर गाउँमै रहनुभएका ठुल्दाई सहित तीन दाजुभाई एक ठाउँमा र काठमाडौँबाट आउनुभएका माइला दाइलाई भने २ मिटर पर अर्कै बिस्तारामा बस्ने व्यवस्था मिलाई छ ।’

सरकारले एक प्रदेशदेखि अर्को प्रदेश, एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्म आवातजावतमा प्रतिबन्ध लगाएकाले काठमाडौँ आएका टेकनीधिलाई क्वारेन्टाइन स्वरुप अलगै राखिएको हो । उहाँले खानपान र अन्य कार्यमा समेत अरु दाजुभाईहरुले संसर्ग नगर्ने तयारी गरिएको स्थानीयले बताएका छन् । हजुरआमाको मृत्युपछि गाउँपुगेका टेकनीधि छोराछोरीलाई पनि परिवारका अन्य सदस्य भन्दा अलगै छुट्टै कोठामा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

श्रीमायाँको अन्त्येष्टिमा पनि स्थानीयले सावधानी अपनाएका थिए । त्यहाँ गठित कोरोना प्रतिकार्य समितिले १२ जना मलामी छनोट गरी श्रीमायाँको अन्त्येष्टिको लागि पठाएको थियो । ‘हाम्रो गाउँमा करिब ९० घर छ । सबै घरबाट एकरएक जना उहाँको मलामी जाने चलन हुन्छ,’ उपल्लो गोहोर पाण्डेगाउँ प्रतिकार्य समितिका संयोजक रामचन्द्र पाण्डेले भन्नुभयो, ‘यस्तो बेला सबै हुलबाँधेर जाने कुरा भएन । नगई नहुने र बोक्न सक्ने बलिया छानेर १२ जनालाई मात्र सागर बठाइयो ।’ करिब २ घण्टा टाढा रहेको अखुर्लको धर्मवती घाटसम्म १२ जनाले मात्र माक्स र सेनिटाइजर लगाएर शव बोकेर पु(याएका थिए । दाउरा भने ट्याक्टरमा लैजाने प्रबन्ध मिलाइएको थियो ।

‘गाउँपालिकाको निर्णय र निर्देशनका आधारमा हामीले टोलटोलमा कोरोना प्रतिकार्य समिति बनाएका छौं’ वडा अध्यक्ष सुरज ढकालले भन्नुभयो, ‘उक्त समितिले गाउँलाई निगरानी गरिरहेको छ । गाउँमा आएका नयाँ मानिसलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । अटेर गर्नेलाई जहाँबाट आएको हो उहीँ फिर्ता पठाउने काम समेत भएको छ ।’ उक्त वडामा पाहुना बनेर र माइती आएका तीन जनाले क्वारेन्टाइनमा बस्न अस्वीकार गरेपछि घरमै प्रवेश गर्न नदिई कोरोना प्रतिकार्य समितिले फिर्ता पठाइदिएको उपल्लो गोहोर दलितबस्ती प्रतिकार्य समितिका संयोजक अनिल विकले जानकारी दिनुभयो ।

सिरानचोक गाउँपालिकाले कोरोना भाइरसको संक्रमण हुन नदिन विभिन्न सावधानी अपनाएको छ । उक्त गाउँको ८ वडामा गरी कुल १४८ कोरोना प्रतिकार्य समिति गठन गरिएको छ । ‘हरेक गाउँटोलका १० देखि ३० घर ९भूगोल हेरेर० समेटेर समिति गठन गरिएको छ,’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो, ‘उक्त समितिले आफ्नो गाउँका मानिसहरु सबै मानिसको लगत संकलन गरेको छ । विदेशबाट मात्र होइन । काठमाण्डौ, चितवन, पोखरा लगायत गोरखाबजार र अर्को वडाबाट आएको मानिसको समेत रेर्कड राखिएको छ ।’ उक्त समितिले गाउँ प्रवेश गर्ने नाका बन्द गर्नुका साथै, गाउँमा मानिस भेला भए नभएको निगरानी समेत गर्छ । गाउँमा रहेका ज्यालामजदुरी गर्ने विपन्न समूदायको पहिचान गरी समिति मार्फत राहत उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ ।

‘हामीले आवश्यकता आधारमा गाउँमा क्वारेन्टिन पनि बनाएका छौं । विदेशमात्र होइन गाउँभन्दा बाहिरबाट आएका व्यक्तिहरुलाई समेत क्वारेन्टिनमा राखिएको अवस्था छ,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘गाउँपालिकाको पहललाई वडा र स्थानीयबासीले समेत अपन्त्व लिएर काम गरिदिनुभएको छ ।’

कोरोना प्रतिकार्य समितिले गाउँ–गाउँमा सामाजिक दुरी कायम गर्ने संकेत र बजार तथा घरहरुमा डोरीले घेराबार समेत बनाएका छन् ।गोरखापत्र अनलाईन


प्रतिक्रिया दिनुहोस्