भित्रिन थाले औषधि उद्योगका कच्चा पदार्थ « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

भित्रिन थाले औषधि उद्योगका कच्चा पदार्थ



काठमाडौं । विगत १५ दिनदेखि भारतको रक्सौलस्थित भन्सार यार्डमा थन्किएका बारा–पर्सामा सञ्चालित औषधी उद्योगहरुले खुद्रामा मगाएका कच्चा पदार्थहरु मंगलबारदेखि नेपाल भित्रिन थालेका छन् ।

औषधी उद्योगले मगाएका कच्चा पदार्थ रक्सौल भन्सारका अधिकारीहरूले रक्सौल नाकाबाट जाँचपास नगर्दा विगत १५ दिनदेखि भारतको रक्सौलस्थित भन्सार यार्ड थन्किएका बारा–पर्सामा सञ्चालित औषधी उद्योगहरुले खुद्रामा मगाएका कच्चा पदार्थहरु मंगलबारदेखि नेपाल भित्रिन थालेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले रक्सौलमा थन्किएका औषधी उद्योगका कच्चा पदार्थहरु मगंलबारदेखि आउन थालेको गोरखापत्रलाई बताउनुभयो ।

लक डाउनका कारण विभिन्न समस्या देखाउँदै भारतको रक्सौलस्थित भन्सारका कर्मचारीहरुले उक्त सामग्रीहरु आईसीपी भन्सारबाट मात्र जाँचपास गराउनुपर्ने भन्दै जाँचपास नै नगरेपछि विगत १५ दिनदेखि कच्चापदार्थहरु भन्सारमा थन्किएर रहेका क्वेट फर्मास्युटिकल्स प्रालिका सञ्चालक पृथ्वी राजभण्डारीले बताउनुभयो ।

गाडीका गाडी कच्चा पदार्थ मगाउन लक डाउनले विभिन्न समस्या सृजना गरेको तर कच्चा पदार्थको अभाव नरहेको राजभण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठूला र सँधै चलिरहने उद्योगहरु चलिरहेकै छन्, हामीसँग अझैँ करिब ३ महिना उद्योगलाई चलाउनसक्ने कच्चा पदार्थ मौज्दात नै छ ।

मारुती फर्मास्युटिकल्सका सञ्चालक प्रभात रुंगटाले रक्सौलमा रोकिएका औषधी उद्योगका खुद्रा सामान भित्रिन थालेको बताउनुभयो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावास र स्थानीय उद्योगी व्यवसायीको पहलमा आयात सुचारु भएको हो उहाँले भन्नु भयो ।

बारा–पर्सा क्षेत्रमा १५ वटा औषधी उद्योग सञ्चालनमा रहेका छन् । तिनै उद्योगले आयात गर्न लागेका औषधी बनाउने कच्चा पदार्थ भारतको रक्सौल भन्सारसम्म आईपुगेर पनि बिगत १५ दिन देखि रोकिएका थिए । मंगलबार नै तीन ट्रक र बुधबार दुई औषधी उद्योगका कच्चा पदार्थ वीरगञ्ज भन्सार नाका हुँदै भित्रिएको मारुती फर्मास्युटिकल्सका सञ्चालक प्रभात रुंगटाले जानकारी दिनु भयो ।

भारतको रक्सौलमा थन्किएका औषधी उद्योगका खुद्रा समान सबै भित्रिएपछि उद्योग सञ्चालन सहज हुने व्यवसायीहरुले आशा गरेका छन् ।

कच्चा पदार्थको गाडी रोकिएको खबर सञ्चारमाध्यममा पढेपछि र स्थानीय व्यवसायीहरुले आग्रह गरेपछि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले पहल थालेको बताईन्छ । महावाणिज्य दूतावासको पहल भएपछि भारतको रक्सौलमा रोकिएका कच्चा पदार्थ आईसिपी नलगी पुरानै भन्सार नाका हुँदै नेपाल पठाउन भारतीय रक्सौल भन्सारका कर्मचारी सहमत भएका थिए ।

हाल काठमाडौंमा १६, वीरगञ्जमा १५, नारायणघाटमा ९ र विराटनगरमा ४ वटा औषधि उद्योग सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस्