कोरानाले कामदार पाइएन, गाउँपालिकाले थाल्यो मेसिन लगाएर निःशुल्क गहुँ काट्न, किसान खुशी « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

कोरानाले कामदार पाइएन, गाउँपालिकाले थाल्यो मेसिन लगाएर निःशुल्क गहुँ काट्न, किसान खुशी



राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले गाउँपालिका सबै किसानको निःशुल्क रुपमा गहुँ कट्न सुरु गरेको छ । बन्दाबन्दी ९लकडाउन०का कारण खेतमै रहेको गहुँबाली काटेर भित्र्याउन नसकेका किसानहरुका लागि गाउँपालिकाले सो कार्य सुरु गरेको हो । संभवतः यस्तो कार्य नेपालमा पहिलो पटक हो ।

अहिले लकडाउनको अवस्थामा गहुँ काट्ने मजदुर नपाइने भएकोले किसानहरुले समस्या भोग्दै आएका थिए । गाउँपालिकाले मेसिनमार्फत निःशुल्क गहुँ कटान सुरु गरे पछि किसान खुशी भएका छन् । गहुँ काट्ने मजदुर पाइरहेको थिएन, यस्तो अवस्थामा गाउँपालिकाले सबै किसानको गहुँ निःशुल्क काटि दिने सुरु गरेपछि हामीलाई धेरै सहुलियत भएको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ८ का राजाराम मण्डलले बताउनुभयो ।

बन्दबन्दीका कारण काट्ने मजदुर नपाएको र हावाहुरीले गहुँबालीलाई नोक्सानी हुन सक्ने भएकोले किसानलाई सहयोग गर्न गाउँपालिकाले गहुँ निःशुल्क काटिदिने निर्णयमा पुगेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताउनुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न एकातिर हामी सबै लागेका छौं भने अर्कोतिर किसानले निक्कै लगानी र मिहनेत गरी लगाएको गहुँबाली समयमै काट्न नसक्दा समस्या हुने देखेर गाउँपालिकाले निःशुल्क रुपमा गहुँ कटान सुरु गरेको अध्यक्ष सिंहको कथन छ । हिजोदेखि दुई वटा मेसिनले वडा नं। ७ मन्सापुरबाट गहुँ कटान थालिएको र मेसिन लगाएर सबै वडाको खेतमा रहेको गहुँ कटान थालिने उहाँले बताउनुभयो ।

गाउँपालिकाको ८ वटै वडामा गरी करिब सात सय विघामा किसानले लगाइएको गहुँ अझै पनि खेतमै रहेको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो । गहुँ कटानमा लाग्ने खर्च गाउँपालिकाले ब्यहोर्ने र मेसिन लगाएर काटिने गहुँ सम्बन्धित किसानले आफै भित्र्याउने अधिकृत झाले जानकारी दिनुभयो । यसरी गाउँपालिकाले नै गहुँ काट्न सुरु गरेपछि धेरै भिडभाड नहुने, सामाजिक दुरी कायम रहने, र किसानको अन्नबाली सहजै भित्रिने उहाँको धारणा छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्