औद्योगिक क्षेत्रका १८ प्रतिशत उद्योग सञ्चालन « Arthapath.com
३० चैत्र २०७६, आईतवार

औद्योगिक क्षेत्रका १८ प्रतिशत उद्योग सञ्चालन



हेटौँडा। कोरोना विषाणुको सङ्क्रमणको त्रासका कारण हेटौँडा औद्योगिक क्षेत्रका १८ प्रतिशत उद्योग मात्र सञ्चालनमा छन् । कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिएसँगै सङ्क्रमण रोक्न सङ्घीय सरकारको खाद्यान्नलगायतका अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्ने निर्णयसँगै हेटौँडा औद्योगिक क्षेत्रस्थित १९ वटा उद्योग मात्र सञ्चालनमा छन् ।

औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका १११ वटा उद्योगमध्ये १९ वटा उद्योग आंशिक रूपमा सञ्चालनमा रहेका हुन् । दूध, साबुन, कुकिज, प्लास्टिक प्याकेजिङ, दाना, पास्ता उत्पादन गर्नेलगायतका उद्योग सञ्चालनमा रहेका छन् ।

हेटौँडा औद्योगिक क्षेत्रका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले सञ्चालनमा रहेका उद्योग पनि आंशिक रूपमा चलेको बताउँदै आवागमनलगायतका समस्याका कारण पूर्ण क्षमतामा चल्न नसकेको बताउनुभयो ।

पूर्ण क्षमतामा चल्दा साढे सात सय कर्मचारीले काम गर्ने ती उद्योगमा अहिले ३२३ कामदार, कर्मचारीको भरमा चलेका छन् । सञ्चालनमा रहेका उद्योगमा हात धुने छुट्टै व्यवस्था, स्यानिटाइजर, मास्कलगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गरी कामदार, कर्मचारीले उत्पादनको काम गरिरहेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल उद्योग आफैँले उद्योगभित्र सबै आवासीय सुविधासहित उद्योग सञ्चालन गर्न सकिने बताउनुभयो ।

औद्योगिक क्षेत्रमा बन्दाबन्दीको समयमा सञ्चालनमा रहेका उद्योगमध्ये ११ अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योग रहेको क्षेत्र व्यवस्थापक कँडेलले जानकारी दिनुभयो । मनौवैज्ञानिक त्रास र मजदुरले अतिरिक्त सुविधा माग गर्दा उद्योग सञ्चालनमा समस्या भएको भन्दै कँडेलले भन्नुभयो, आवागमन, कच्चा पदार्थ, उत्पादित वस्तुको बजारमा माग कमीसँगै बजारमा आपूर्तिको समस्या रहेको छ ।

उहाँका अनुसार औद्योगिक क्षेत्रमा भएका उद्योगहरूको कामदार–कर्मचारी र उत्पादन क्षमताको ६ प्रतिशत मात्र अहिले उत्पादन भइरहेको छ । औद्योगिक क्षेत्रका उद्योगहरूमा झन्डै पाँच हजार कामदार, कर्मचारी कार्यरत रहेका छन् ।

कतिपय उद्योगले मजदुरका लागि आवश्यक आवास तथा थप पारिश्रमिकको व्यवस्था गर्न नसक्दा पनि उद्योग सञ्चालनमा आउन सकेका छैनन् । कामदार, कर्मचारीले अहिले गरेको कामका अतिरिक्त सेवा सुविधा दिनुपर्ने माग गर्दै आएका छन् ।

सरकारले दोस्रोपटक बन्दाबन्दीको अवधि बढाएपछि र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्न भनेको छ तर उद्योग सञ्चालन गर्दा कोरोना विषाणुको सङ्क्रमणको डरसँगै अन्य समस्याले सुचार गर्न नसकेको क्षेत्र व्यवस्थापक कँडेलले बताउनुभयो ।

हेटौँडा दुग्ध वितरण आयोजना, खाद्य उद्योग, भ्याली पेलेट फिड, सिद्धार्थ पेलेट फिड, नेपाल चिलिङभ्याट, मकवानपुर वेभरेज प्रालि, महाशक्ति सोप एन्ड केमिकल्स प्रालि, एमएम पोलिमर्स, नेपाल पास्ता फुड, ग्यासिका टेक्स्टाइललगायतका उद्योग सञ्चालनमा छन् ।गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्