कृषिमा कोरोना कहरः कुखुरामा दैनिक साढे बाइस करोड घाटा « Arthapath.com
३० चैत्र २०७६, आईतवार

कृषिमा कोरोना कहरः कुखुरामा दैनिक साढे बाइस करोड घाटा



भरतपुर । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीको असरले कुखुरापालन क्षेत्रमा दैनिक २२ करोड ५० लाख रुपियाँ नोक्सानी भइरहेको छ । कुखुरा व्यवसायी मञ्च नेपालका कार्यकारी निर्देशक शिवप्रसाद बरालले अहिले लकडाउनले कुखुरा व्यवसायमा ठूलो क्षति पुगे पनि सरकार मौन बसेको आरोप लगाउनुभयो ।

बन्दाबन्दीको प्रत्यक्ष प्रभाव पोल्ट्री क्षेत्रमा छ तर सरकार मौन छ, उहाँले भन्नुभयो । उहाँले अहिले कुखुरा बिक्री हुन नसकेर गाड्नुपरेको पीडा पनि पोख्नुभयो ।

चल्ला बिक्री हुन नसकेर प्रतिहप्ता ४० लाख चल्ला नष्ट गर्नुपरेको छ । अण्डा बिक्री हुन नसकेर दैनिक ३० लाख गोटा अण्डा नष्ट भइरहेको छ, उहाँको दुःखेसो थियो, पोल्ट्री क्षेत्रमा भइरहेको दैनिक घाटाले किसान मर्कामा छन् ।

भएका कुखुरालाई पनि दानाको अभाव भएको र दाना नहुँदा कुखुरालाई कतिपय किसानले घाँस खुवाएर बचाउनुपरेको पीडा पनि उहाँले सुनाउनुभयो ।

पश्चिम चितवन पार्वतीपुरका व्यावसायिक कुखुरापालक किसान मदन पोख्रेलले किसानको समस्या सरकारले बुझ्नुपर्ने बताउनुभयो । कुखुरा जिउँदो हुन्छ, यसलाई कसरी बचाउने भन्ने कुरा सरकारले बुझ्नुपर्छ, उहाँले भन्नुभयो ।

नेपाल ह्याचारी सङ्घका अध्यक्ष टीकाराम पोख्रेल काठमाडौँका आठ लाख नागरिक उपत्यका छाडेर बाहिर गएका र होटल रेस्टुरेन्ट पसल सबै बन्द हुँदा कुखुराको मासुको खपत घटेको बताउनुहुन्छ । उत्पादित कुखुराजन्य सामग्रीमध्ये अहिले २५ प्रतिशत मात्रै समान बिक्री भइरहेको बताइएको छ ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा कोरोनाको प्रभाव सबैतिर भएको बताउनुभयो । कुखुरापालन क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेर ढुवानीदेखि सबै कुरा सहज बनाइएको भए पनि किसानको गुनासो भने आइरहेको उहाँको भनाइ छ । सङ्घका अध्यक्ष पोख्रेल भने सरकारले छुट दिए पनि सडकमा प्रहरीले रोक्दा बढी समस्या भएको तर्क गर्नुहुन्छ । यसै त बजार छैन भएको कुखुरा पनि ढुवानी गर्न खोज्यो प्रहरीले बीच बाटोमै रोकिदिन्छ, उहाँले भन्नुभयो ।गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्