३०० घरपरिवारलाई राहत प्रदान « Arthapath.com
३० चैत्र २०७६, आईतवार

३०० घरपरिवारलाई राहत प्रदान



FILE PHOTO

सिन्धुली । यहाँको कमलामाई नगरपालिकाले हालसम्म ३०० घरपरिवारलाई राहत प्रदान गरेको छ । लकडाउनका कारण समस्यामा परेका घरपरिवारको पहिचान गरी रहात वितरण गरिएको हो । नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार लकडाउन अवधिमा आफ्नो श्रम व्यवसाय नचली दैनिक गुजारा गर्न कठिनाइ भएका र मापदण्ड पूरा भई सम्बन्धित वडाको सिफारिस भई आएका घरपरिवारलाई राहत प्याकेज उपलब्ध गराइने छ । शनिबार बसेको स्थानीय विपद् व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले वडाबाट सिफारिस भई आएका परिवारलाई राहत दिने निर्णय गरेको थियो ।

नगरपालिकाले यसअघि ७६ घरपरिवारलाई राहत प्याकेजअनुसार प्रतिव्यक्ति २० केजी चामल, तीन केजी दाल, एक केजी चिनी, दुई केजी आलु, ५० ग्राम बेसार, एक लिटर तेल र एक केजी नुन प्रदान गरेको थियो । श्रमिक तथा अतिविपन्न परिवारको चुलो निभ्न नदिन कमलामाई सचेत रहेको र त्यस्ता व्यक्तिलाई तत्कालै राहत उपलब्ध गराउने पक्षमा आफू रहेको प्रमुख खत्रीले बताउनुभयो ।

हाल विद्यमान कोभिड–१९ को महामारीको कारणबाट नगरपालिका क्षेत्रभित्र राहत वितरणका लागि खाद्यान्न आपूर्तिका लागि डोकानिया ब्रदर्ससँग सम्झौता भएअनुसार भुक्तानी दिँदा धरौटीवापत पाँच प्रतिशत रकम कट्टा गर्ने र सम्झौतानुसार तत्काल ५०० प्याकेज राहत सामग्री माग गर्ने तथा आवश्यक भएमा थप माग गर्नेसमेत निर्णय भएको उहाँले जानकारी दिनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्