सहुलियत मूल्य पसलमा ग्राहक कम हुँदा कारोवारमा कमी « Arthapath.com
१ बैशाख २०७७, सोमबार

सहुलियत मूल्य पसलमा ग्राहक कम हुँदा कारोवारमा कमी



काठमाडौँ । अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् ।

बन्दाबन्दी पहिले ग्राहकको भीड थेग्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनमा उपभोक्ता छिर्न सकेका छैनन् । कर्पोरेसनको सतुङ्गल बिक्री केन्द्रका प्रमुख प्रेम ढकालको अनुभवमा बन्दाबन्दीपूर्व ग्यास, चिनी र नुन किन्नेको भीड हुन्थ्यो तर अहिले ग्राहक नै छैनन् ।

बन्दाबन्दी नहुँदै दैनिक दुई÷तीन लाख रुपियाँको व्यापार गरेको बताउँदै उहाँले पहिले ग्यास मात्र दैनिक ५० सिलिन्डरभन्दा बिक्ने गरेकामा अहिले मुस्किलले चार÷पाँचवटा बिक्ने गरेको तर चिनी, नुन, चामल र दालका लागि ग्राहक नै नआउने उल्लेख गर्नुभयो ।

ग्यास आधा सिलिन्डरमा आउन थालेदेखि ग्यास पनि बिक्नै छाडेको उहाँको बुझाइ छ । पहिले कर्पोरेसनका सामान किन्न थानकोट, बलम्बु, नैकाप, तीनथाना, मच्छेगाउँ र सतुङ्गलका ग्राहक आउने गरेकामा बन्दाबन्दीपछि स्थानीय मात्रै ग्राहक रहेको प्रमुख ढकालले थप्नुभयो ।

कर्पोरेसनको केन्द्रीय बिक्री केन्द्र कालीमाटीमा पनि अवस्था उही छ । सामान किन्न कालीमाटी वरपरकाबाहेक अन्य ठाउँका ग्राहक आउन छाडेको सो केन्द्रका बिक्री विभाग प्रमुख प्रज्ज्वल प्रधानले जानकारी दिनुभयो ।

उक्त केन्द्रमा स्थानीय तहमार्फत वितरण गरिने राहतस्वरूप उपलब्ध गराइने खाद्यान्न खरिदका लागि बढी ग्राहक आउने गरेको उहाँको अनुभव छ । स्थानीय तहमार्फत उपलब्ध गराउने राहतका लागि उपत्यकाका महानगरपालिकासहित सबै नगरपालिका र वडाले कर्पोरेसनसँग खाद्यान्न खरिद गरिरहेको प्रधानले जानकारी दिनुभयो ।

कर्पोरेसनले उपत्यकामा कालीमाटी, सतुङ्गल, कोटेश्वर, भक्तपुर, लगनखेलमा रहेका बिक्री केन्द्रमार्फत सामान बिक्री गर्दै आएको छ ।

यी बिक्री केन्द्रबाहेक तीनवटा मोबाइल भ्यानमार्फत पनि बिक्रीको प्रबन्ध मिलाएको कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले जानकारी दिनुभयो । उहाँले बिक्री केन्द्रभन्दा बढी मोबाइल भ्यानमार्फत कारोबार भइरहेको जानकारी दिनुभयो । तीनवटा भ्यानले उपत्यकाका विभिन्न ठाउँका चोकचोकमा गएर उपभोक्तालाई सहुलियत मूल्यमा सामान बिक्री गरेको उहाँको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा पर्याप्त चामल मौज्दात रहेको बताए पनि इन्डक्सन चुलो सकिएपछि ग्राहक आउन छाडेका छन् । कम्पनीसँग २५ हजार मेट्रिक टनको हाराहारीमा चामल, एक सय क्विन्टल कर्णालीको सिमी, त्यही परिणामको तीतेफापर छ ।

कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले बन्दाबन्दीपछि कम्पनीको चामलप्रति उपभोक्ताको खासै आकर्षण नदेखिएको बताउनुभयो । उहाँले बजारभन्दा खाद्यको चामल धेरै सस्तो र गुणस्तरको भए पनि उपभोक्ताले चासो नदिएको बताउनुभयो ।

सो कम्पनीले काठमाडौँको रामशाहपथ र थापाथली, ललितपुरको नख्खु र लगनखेलको प्रयागपोखरी, भक्तपुरको सूर्यविनायक गरी पाँचवटा बिक्री केन्द्रमार्फत चामल, कर्णालीको सिमी, तीतेफापरको बिक्रीको व्यवस्था गरेको छ ।

सरकारले सञ्चालनमा ल्याएका सहुलियत मूल्य पसलमा खाद्यवस्तु उपलब्ध गराउने भने पनि ती सबै उपभोक्ताको पहुँचमा छैनन् । उपभोक्ता अधिकारकर्मीले सरकारले दोहोरो चरित्र प्रस्तुत गरेका कारण उपभोक्ता मारमा परेको आरोप लगाउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले यस्ता पसल दुई÷चार ठाउँमा मात्रै सीमित नगरेर कम्तीमा पनि प्रत्येक स्थानीय तहमा एउटा व्यवस्था गर्न सकेमा मात्रै सहज हुने बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले सहुलियत मूल्य पसलसम्म पहुँच नभएकाका लागि मोबाइल भ्यान परिचालन गरिएको जानकारी दिनुभयो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्