बन्दाबन्दी लम्बिदै छ, वेचैनी र हिंसा बढ्न सक्छ सम्हालिनोस् « Arthapath.com
१ बैशाख २०७७, सोमबार

बन्दाबन्दी लम्बिदै छ, वेचैनी र हिंसा बढ्न सक्छ सम्हालिनोस्



काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले देशव्यापी बन्दाबन्दीको घोषणा गरेको तीन हप्ता पुगेको छ । सरुमा सधैंको दौडधुपबाट एकाएक घर भित्र त्यो पनि परीवारसँग आरामले बस्न पाउँदा धेरैलाई बन्दाबन्दी बरदान जस्तै भएको थियो ।

परिवारका सदस्य एकै ठाउँमा बस्नु सँगै खानखान पाउँदा धेरैलाई सुरुसुरुमा त निकै रमाइलो भयो एक हप्ताका लागि शुरु गरिएको बन्दाबन्दी अहिले थपिदै तीन हप्ता पुगिसक्दा पनि यो चाँडै खुल्ने अवस्था छैन । अब यो लम्बिदै गयो भने यसले धेरैमा मानसिक समस्या तथा घरेलु हिंसाका घटना बढ्न सक्ने विज्ञहरुले सचेत बनाएका छन् ।

कुनै पनि चिज ठीक हुँदा मिठो र रमाइलो हुन्छ नै तर त्यही चिज धेरै भयो भने त्यसलाई सहि किसिमले व्यबस्थापन गर्न नसके त्यो घातक हुन सक्ने मनोविज्ञहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनले लकडाउनमा महिला हिंसा बढ्न सक्ने अनुमान गर्दै सद्भावपूर्ण रुपमा घरमा बस्न आग्रह गरेको छ ।

लकडाउनमा उकुसमुकस सहितको नकारात्मक सोचलाई सकारात्मक सोचमा बदल्न मानिसले आफै सक्रिय रहनुपर्ने मनोविद डा।नरेन्द्र ठगुन्ना बताउनुहुन्छ ।

मानिस फुर्सदमा रहेकाले सामान्य भन्दा बढि सोच्ने, चिन्ता गर्ने गर्छन् । कोरोना कहरमा विश्वव्यापी रुपमै घर कलह र महिला हिंसा बढ्न थालेको विभिन्न अध्ययनले देखाएको छ ।

उहाँका अनुसार श्रीमान श्रीमतीको बीचको सम्बन्ध सुधार गर्ने अवसरको रुपमा यो लकडाउनलाई लिनसकिन्छ । बिहान बेलुका खान नै छैन कसरी सम्बन्ध सुधार गर्ने भन्ने एउटा चुनौती छ । “तथापी बिबाहित जोडीहरुले आफ्नो जीवनमा भएका महत्वपूर्ण घटनाहरु सम्झने र स्मरण साटासाट गर्नुपर्छ,” मनोविद ठगुन्नाले भन्नुभयो ।

बिहेको दिन, प्रेमका दिन स्मरण गर्ने अनि त्यो बेला आफूले गरेका अनौठा क्रियाकलापको चर्चा गर्ने, पुराना फोटोका एल्बम र प्रेमपत्र पल्टाउदै मिठा पलको सम्झना गर्दै प्रेमलाई रिचार्ज गर्न सकिने उहाँ बताउनुहुन्छ ।

घरमा काम गरीरहेको श्रीमतीलाई यो ल्याउ, त्यो पनि ल्याउ भनेर बढि निर्देशन दिने बानी श्रीमानले हटाउनुपर्छ । यस्तोमा नजानेपनि घरको काम गर्न श्रीमानले सिक्नुपर्छ । कतिपयलाई बाहिरी कामको मात्र अनुभव हुन्छ ।

बाहिरी वातावरणमा बढी रमाइलो मान्ने श्रीमानलाई यतिबेला परिवारको जीवनलाई ख्याल गर्न श्रीमतीले पनि सिकाउनुपर्छ । जानी नजानी सँगै सिक्ने सिकाउने गर्दा थप माया बढ्छ ।
श्रीमान, श्रीमतीसँगै बालबालिकाको दिनभरी गर्ने कामको छुट्टा छ्ु्ट्टै सूची तयार गरेर दैनिकी चलाउने बानी बसाल्न उहाँ सुझाउनुहुन्छ । यसोगर्दा काममा समान सहभागितासँगै एक दोस्रोले काम र समय दुबैलाई स्वीकार गर्न थाल्छ । यसले काम बिहीन भएको अनुभूति कम गराउदै पारिवारीक स्नेह बढाउछ । र पारिवारीक द्वन्द्व कम गर्न सघाउँछ ।

मनोविद ठगुन्नाका अनुसार पुरुषको व्यक्तित्व स्वभावैले एकोहोरो हुन्छ । महिलाले घर तथा बाह््य काम एकैचोटी गर्न सक्ने क्षमता राख्छन् ।

पुरुषमा त्यो क्षमता कम हुन्छ । बाहिरी काममा रोकावट आउँदा यतिबेला पुरुषको बानी परिवर्तन गर्न कठिनाइ परिरहेको छ । एक विश्वव्यापी अध्ययनले कुनैपनि असहज परिस्थितिमा सामना गर्न सक्ने क्षमता महिलाहरुको भन्दा पुरुषको कम रहेको देखाएकोछ ।

“त्यसैले नसोचेको लकडाउनमा पुरुषमा चिडचिडापन बढ्ने र यो असहज बेलामा नकारात्मक धारणा बनाउने गर्छन्,” ठगुन्नाले थप्नुभयो । विश्वकै कोरोना संक्रमणका सम्बन्धमा हालै विदेशमा भएका अध्ययनको तथ्याङ्कले महिलाका तुलनामा पुरुष बढि संक्रमित भएको देखाएको छ ।
सामना गर्न सक्ने प्रतिरोधि क्षमता पुरुषमा कम हुनु नै कारक रहेको ठगुन्ना उल्लेख गर्नुहुन्छ । तुलनात्मक रुपमा २।५ प्रतिशत पुरुषमा बढि संक्रमण भएको छ भने महिलामा १।५ प्रतिशत रहेको विदेशी अध्ययनले बताउँछ ।

के गर्दैछ महिला मन्त्रालय
म्हिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ लकडाउनमा तत्काल महिला हिंसा र पारिवारिक बेमेल ह्वात्तै बढेको खबर नआइसकेको दाबी गर्नुहुन्छ ।

“तर विश्वमै यो अवस्थाको आंकलन गरेकाले नआउला भन्न सकिन्न सचेत रहनैपर्छ,” मन्त्री गुरुङले भन्नुभयो । यतिबेला फाट्ट फुट्ट महिला हिंसाका घटनाको जानकारी मन्त्रालयमा आएको जानकारी उहाँले दिनुभयो ।

अहिलेका मानिसमा पहिलेको भन्दा सचेतना बढि रहेकाले पनि लकडाउनमा बढि हिंसा नहुने दाबी उहाँले गर्नुभयो । योगा गर्ने, मनोविदको परामर्श लिने, सँगै काम गर्ने बानी बसाल्न उहाँ सुझाउनुपर्छ । कुनै समुदायमा बढि भएमा मन्त्रालयले परामर्श दिने सोच मन्त्रालयले बनाएको छ । अहिले भने परिवारमा मेलमिलापमा बढाउने र जिम्मेवारीपूर्वक नकारात्मक घटनाको व्यवस्थापन गर्न मन्त्रालयले कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्