स्वास्थ्यकर्मी र कर्मचारीलाई १० लाखको बीमा « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

स्वास्थ्यकर्मी र कर्मचारीलाई १० लाखको बीमा



बाजुरा । कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका कर्मचारीलाई बाजुराको हिमाली गाउँपालिकाले रु १० लाख बराबरको बीमा सुविधा दिने निर्णय गरेको छ । प्रतिदिन रु ५०० थप सुविधा दिइरहेको हिमाली गाउँपालिकाले थप रु १० लाखको बीमा सहुलियत दिने निर्णय गरेको हो ।

सरकारको रु २५ लाख र प्रदेश सरकारको रु १५ लाखमा गाउँपालिकाले रु १० लाख थपेर रु ५० लाख बनाएको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिनुभयो । मानव जातिको सुरक्षाका लागि खटिएका कर्मचारीलाई हौसला दिन थप सुविधा र बीमा गर्ने निर्णय गरिएको हो ।
वैशाख २ र ३ गते गाउँपालिकामा बसेको विपद् व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिको बैठकले गरेको उक्त निर्णय सार्वजनिक गरेको हो ।
गाउँपालिकाले गरेको निर्णयले कर्मचारीको मनोबल बढेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीको भनाइ छ । निर्णयले स्वास्थ्यकर्मी, कर्मचारीसहितको मनोबल बढाउने योजना हिमालीले ल्याएको हो । गाउँपालिकाले सम्पूर्ण आवतजावत, भेला तथा जमघटका सबै गतिविधि पूर्णरूपमा बन्द गरेको छ । सीमानाकामा खटिन र वडामा लकडाउन नियमको पालना गर्न स्वयंसेवक खटाइएको छ ।


प्रतिक्रिया दिनुहोस्