हिँडेर घर जानेलाई ठाउँको ठाउँ खाने बस्ने ब्यवस्था मिलाउन निर्देशन « Arthapath.com
६ बैशाख २०७७, शनिबार

हिँडेर घर जानेलाई ठाउँको ठाउँ खाने बस्ने ब्यवस्था मिलाउन निर्देशन



काठमाडौं । लकडाउनको समयमा हिँडेरै घर जानेहरु जो जहाँ बसेका छन् उनीहरुलाई यथास्थानमा बस्ने ब्यवस्था मिलाउन सरकारले निर्देशन दिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का पदाधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको हो ।

उक्त बैठकमा भएका निर्णयहरुको जानकारी गराउँदै अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले लकडाउन कडा रुपमा पालना गर्न समेत छलफल भएको बताए । उनले भने “जो जहाँ हिँडेर पुगेको छ त्यही बस्ने व्यवस्था गर्नुपर्छ । खानबस्नका लागि स्थानीय र प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्छ ।” समग्र परिस्थितिको मूल्याङ्कन गरेर आवश्यकताका आधारमा निर्णयमाथि पुर्नमूल्याङ्कन गर्ने उनले बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिएको उनले जानकारी दिए ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा स्वास्थ्यकर्मीको व्यवस्थापनलगायत उपचारको समग्र अवस्थाबारे समन्वय समिति र सीसीएमसीसँग बैठकमा छलफल भएको थियो । लकडाउनको समयमा दैनिकी चलाउन समस्याम परेका परिवारलाई खाद्यान्न व्यवस्था गर्नसमेत स्थानीय तह, प्रदेश सरकार र सांसदहरुसँग समन्वय गर्नसमेत उच्चस्तरीय समितिलाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्