तीन हप्तादेखी बन्द भएको कर्णाली करिडोरको काम शुरु हुँदै « Arthapath.com
६ बैशाख २०७७, शनिबार

तीन हप्तादेखी बन्द भएको कर्णाली करिडोरको काम शुरु हुँदै



काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो । नेपाली सेनाले काम गरिरहेको यो निर्माणाधीन सडकको काम थाल्ने आयोजना प्रमुख तथा सेनानी मिलन कार्कीले जानकारी दिनुभयो ।

दु्रत गतिमा काम अगाडि बढिरहेको कर्णाली करिडोरको तीन हप्ताअघि बन्दाबन्दीसँगै रोकिएको थियो । ‘‘नेपाली सेनाको विकास निर्माण दलले रोकिएको काम थाल्ने तयारी गरेको छ’’, कार्कीले भन्नुभयो । उहाँ कर्णाली करिडोरको खुलालु लैफु कवाडी हँुदै सलीसल्ला सडक निर्माण दलका आयोजना प्रमुख हुनुहुन्छ ।

त्यस सडक खण्डमा नेपाली सेना र कामदार गरी तीन सय बढीले काम गर्दै आएका थिए । सेनाले त्यस सडक खण्डको १२३ किलोमिटर निर्माणको जिम्मा पाएकोमा बन्दाबन्दी अघिसम्म ११५ दशमलव एक किलोमिटर सडकको प्रारम्भिक ट्र्याक खोल्ने कार्य पूरा भएको छ ।

आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी सेनाको जिम्मामा रहेको सबै सडककोे निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यलाई बन्दाबन्दीको प्रभाव देखिएपछि जङ्गी अड्डाबाट निर्माण कार्य तत्काल थाल्न निर्देशन आएको उहाँले जानकारी दिनुभयो  ।

निर्माणका बेला सङ्क्रमणबाट बच्न सेनाले निगरानी र सावधानी भने अपनाउने छ । सेनाको जिम्माको काम अब ७.९ किलोमिटर मात्र बाँकी छ । यसलाई निर्धारित समयमा पूरा गर्न पनि सेनाले काम अगाडि बढाउने तयारी गरेको हो । तत्काल काम थाल्दा असारसम्म सम्पन्न गर्ने लक्ष्यमा पुग्न सकिने कार्कीको भनाइ छ ।

आयोजना प्रमुख कार्की बन्दाबन्दीमा पनि आयोजना स्थलमै रहनुभएको छ । उहाँका अनुसार बाँकी भनिएको बालुकुना गौडादेखि सलीसल्लासम्मको खण्ड हो । सो खण्डको पनि सर्केगार्ड गाउँपालिका–१ को खच्चादेखि नेरघाटसम्मको तीन किलोमिटरमा पनि गाडी गुड्ने सडक निर्माण भएको छ ।

हुम्लाको कवाडीदेखि बालुकुना गौडासम्म इन्धन बोकेर नेपाली सेनाको गाडी आइसकेका छन् । अन्य बाँकी खण्डमा पनि विस्फोट गर्ने, गारो लगाउने, ढुङ्गामाटो भर्ने काम जारी रहेको थियो । नेपाली सेनाले रक्षा मन्त्रालयसँंग काम अगाडि बढाउने प्रक्रिया सुरु गरेसंँगै निर्माण स्थलमा कामदार ल्याउनुपर्ने हुन्छ । त्यसका लागि निर्माण स्थलमा खटिएको निर्माण दलले स्थानीय तहसँंग समन्वय गरिरहेको नेपाली सेनाले जानकारी दिएको छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्