पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या « Arthapath.com
६ बैशाख २०७७, शनिबार

पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या



चिप्लेढुङ्गा । बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन् ।

पोखरा महानगरपालिका वडा नं १० स्थित पोखरा औद्योगिक क्षेत्रमा ७७ उद्योग छन् । हालको अवस्थामा भने २१ उद्योग सञ्चालित छन् । तीमध्ये १४ उद्योग अनुमति लिएर पुनःसञ्चालन भएका हुन् । अन्य सात उद्योग भने कामदार त्यहीँभित्र बस्ने भएकाले भित्रभित्र काम गरिरहेका छन् । अनुमति नलिई सञ्चालित उद्योगमा फलामजन्य र ब्लक उद्योग छन् ।

औद्योगिक क्षेत्रभित्र सञ्चालित ताजा फुड्स प्रालिका सञ्चालक विनोद शर्मा न्यौपानेले सामान उत्पादन र वितरणसम्मको स्पष्ट निर्देशिका सम्बन्धित निकायले नबनाउँदा उद्योग बन्द गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित भएर उद्योग सञ्चालन गर्नू मात्र भनिएको छ, उद्योगमा कामदारदेखि उत्पादनलाई बजार हुँदै उपभोक्तासम्म पु¥याउने सुरक्षित उपायका बारेमा केही भनिएको छैन, यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्नू ?” उहाँले निकै अन्योल रहेकाले हाल उद्योग बन्द गर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार कतिपय बेकरी उद्योगले उत्पादन गरेको सामान बजारमा लैजाँदा समेत बाटामा स्थानीयवासीले बाँसलगायत सामानले अवरोध सिर्जना गर्ने गरेकाले पनि अहिले सञ्चालन भएका बेकरी उद्योग बन्द भएका छन् । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले अहिले पानी, बिस्कुट, मसला, अक्सिजन र दुग्ध उद्योग सञ्चालनमा रहेको र चाउचाउ उद्योग केही दिनपछि आउने जानकारी दिनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कामदारको सुरक्षा अपनाउन नसक्दा उद्योग सञ्चालमा कठिनाइ भएको बताउनुभयो । “उद्योगमा कार्यरत मजदूरको स्वास्थ्य सतर्कताका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छैन, कामदार आफू असुरक्षित महसुस गरेर काम गर्न सक्दैनन् ”, उहाँले भन्नुभयो । थर्मल गन, पिपिइलगायत आवश्यक स्वास्थ्य सामग्री खोजे पनि नपाइएको उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्रको ढोकामा एउटा ‘हेल्थ डेस्क’ आवश्यक रहेको सम्बन्धित निकायमा जानकारी गराइए पनि व्यवस्था नभएको उहाँको गुनासो छ । हाल सञ्चालन भइरहेका उद्योग निकै कठिन अवस्थामा रहेको र जम्मा २५ प्रतिशत मात्र उत्पादन भएको उहाँले बताउनुभयो ।

त्यसैगरी हाल बन्द रारा, रम्बालगायत चाउचाउ उत्पादन गर्दै आएको हिमश्री फुड्सले यही वैशाख ७ गतेदेखि पुनःसञ्चालन गर्ने सोच बनाएको प्रालिका जनरल म्यानेजर अमित थापाले जानकारी दिनुभयो । उहाँले पहिल्यै उत्पादित चाउचाउले अहिलेसम्म बजार व्यवस्थापन गरेकाले अब सञ्चालनको तयारी गरिएको बताउनुभयो । “सीमित कामदारबाट स्टक राखिएको सामग्रीबाट अहिले उत्पादन गर्ने तयारी भएको छ, हेरौंँ कहिलेसम्म चलाउन सक्छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार हाल मौज्दात रहेको कच्चा पदार्थबाट १५ दिनका लागि मात्र उत्पादन गर्न सकिन्छ । औद्योगिक क्षेत्रभित्र रहेको अर्को पोखरा नुडल्स पनि हाल बन्द छ ।रासस


प्रतिक्रिया दिनुहोस्