कोरोनाले जनता भोकै बनेपछि राष्ट्रपतिले महंगो गाडी नचढ्ने « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

कोरोनाले जनता भोकै बनेपछि राष्ट्रपतिले महंगो गाडी नचढ्ने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आफ्नो लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा नै फिर्ता गरेकी छिन् । विश्वमा नै कोभिड–१९ को महामारीले उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने भन्दै उनले उक्त रकम फिर्ता गरेकी हुन ।

नयाँ गाडी, ल्यापटप, कम्प्युटर तथा मेसिनरी औजार खरिद तथा मिटिङ हल निर्माण र भवनको मर्मतसम्भार कार्य स्थगित गरी बजेट फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति कार्यालयले सरकारले गरेको बजेटअनुसार राष्ट्रपति भण्डारीका लागि ६५ लाख रुपैयाँ (भन्सार राजस्वबाहेक)मा लामो भीभीआईपी इलेक्ट्रिक गाडी खरिद गर्ने अन्तिम तयारी गरेको थियो ।

हाल राष्ट्रपति भण्डारी दुई वर्षअघि खरिद गरिएको बीवाईडी इलेक्ट्रिक कार चढिरहेकी छिन । उनले प्रयोग गर्ने गाडीहरु सबै पुराना भईसकेकोले नयाँ गाडी खरिद गर्ने योजना रहेको थियो ।

उक्त कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटर गुड्छ । राष्ट्रपति कार्यालयले एकपटक चार्ज गरेपछि ४ सय ५० किमि गुड्ने त्योभन्दा आधुनिक र सुविधासम्पन्न कार किन्ने प्रक्रिया अन्तिम चरणमा र्पुयाएको थियो । राष्ट्रिपति कार्यालयका सचिव र सहसचिवलगायतका लागि अरू ५ वटा इलेक्ट्रिक कार खरिद गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको थियो ।

यस्तै राष्ट्रपति कार्यालयमा विशेष मिटिङ हल पनि निर्माण नहुने भएको छ । कार्यालयमा विदेशी मुलुकका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि छुट्टै भेट्ने मिटिङ हलसमेत छैन । करिब साढे चार करोड रुपैयाँमा मिटिङ हल बनाउने र राष्ट्रपति कार्यालय भवनको मर्मतसम्भार गर्ने तयारी भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस्