चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने(पूर्णपाठ सहित) « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने(पूर्णपाठ सहित)



काठमाडौं। नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषलाई बढाएर कोभिड–१९ को अत्याधिक प्रभावमा परेका साना तथा मझौला उद्योग, पर्यटन अन्य क्षेत्रमा सन्तुलन हुने गरी कर्जा प्रवाह गर्न पुनरकर्जा कार्यविधि संशोधन गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकको ६५औं वार्षिक उत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले आफ्नो वक्तव्य वेवसाइटमा प्रकाशन गर्दै ६० अर्बको पुनर्कर्जा कोषलाई बढाउने बताएका हुन।

त्यसैगरी, चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने पनि अधिकारीले बताएका छन्।

“वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्ध छ”, अधिकारीले भने।

राष्ट्र बैंकले वित्तीय क्षेत्रको लागि दिने राहत प्याकेजको बारेमा अहिले विभागीय छलफल भइरहेको र केही दिनमा त्यसलाई सञ्चालक समितिमा लगेर टुङ्गो लगाउने केन्द्रीय बैंकका अधिकारीहरूले बताएका छन्।

त्यसैगरी, कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइनेछ उनले बताएका छन्।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने उनले बताए।

कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा दिने घोषणा पनि गभर्नर अधिकारीले गरेका छन्।

त्यसैगरी, लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्ने व्यवस्था मिलाउने उनले बताएका छन्।

पूर्णपाठ सहित

नेपाल राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा गभर्नर श्री महा प्रसाद अधिकारीले दिनुभएको वक्तव्यको पूर्ण पाठ बैंकको वेवसाइटमार्फत सार्वजनिक गरिएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विगतका वर्षहरूमा झैँ औपचारिक रूपमा वार्षिकोत्सव समारोह आयोजना गर्न नसकिएता पनि वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुहुने तथा बैंकको कामकारवाहीमा सहयोग पु¥याउनुहुने सम्पूर्ण शुभेच्छुकहरुप्रति नेपाल राष्ट्र बैंक कृतज्ञताज्ञापन गर्दछ ।

कोभिड–१९ को प्रकोपका कारण अर्थतन्त्रमा सिर्जना भएको प्रतिकूलतालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई विस्तार र स्थायित्वको मार्गमा अगाडि वढाउन नेपाल राष्ट्र बैंकले समसामयिक
रूपमा नीतिगत पहलकदमी लिँदै आएको व्यहोरा सबैमा अवगत नै छ । कोभिड–१९ को प्रकोपका
कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न गभर्नर श्री महा प्रसाद अधिकारीले वार्षिकोत्सवको उपलक्ष्यमा दिनुभएको मन्तव्यमा उल्लेख गर्नुभएका थप नीतिगत व्यवस्था देहायबमोजिम रहेका छन ।

(क) चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

(ख) कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइनेछ ।

(ग) साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा
कार्यविधिमा संशाधन गरिने छ । साथै, रु.६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइनेछ ।

(घ) बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिनेछ ।

(ङ) कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

(च) लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइनेछ । मितिः २०७७ वैशाख १४, आइतबार गभर्नरको कार्यालय

https://archive.nrb.org.np/ofg/events_ofg_cms/Press%20Release%20(20770114).pdf


प्रतिक्रिया दिनुहोस्