असिनापानीले तरकारी बालीमा क्षति « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

असिनापानीले तरकारी बालीमा क्षति



रामपुर। असिनापानीले पाल्पाका विभिन्न स्थानमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ । हावाहुरीसहितको असिनापानीले फल लाग्दै गरेका र फूल खेलेका तरकारी बालीमा क्षति पुगेको कृषक बताउँछन् ।

तरकारीको मुख्य क्षेत्र रहेको निस्दी गाउँपालिका २ सहलकोट क्षेत्रमा मात्रै करीब ३५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी खेतीमा नोक्सान पुगेको छ । यहाँ लगाइएको काँक्रा, करेला, गोलभेँडा, सिमी र खुर्सानी जातका तरकारी असिनापानीले नष्ट पारेको छ ।

स्थानीयवासी यमबहादुर मश्राङ्गी आफूले आठ रोपनी जग्गामा लगाएको तरकारीमा असिनापानीबाट रु चार लाख बराबरको क्षति पुगेको बताउनुहुन्छ । सोही ठाउँकै राममाया लामिछानेले स्थायी टनेलमा लगाउनुभएको सिमी, गोलभेँडालगायत तरकारीमा क्षति पुगेको छ । टनेलको फलामे डण्डी नै भाँिचएपछि समस्या परेको उहाँ बताउनुहुन्छ । उहाँको टिप्ने बेला भएको चौमासे सिमी र गोलभँेडामा नोक्सानी पुगेको छ ।

प्रदेश सरकारको सहयोगमा निस्दीमा दश तरकारी टनेल निर्माण गरिएको छ । जलदेवी सामाजिक महिला उद्यमी सहकारीमार्फत प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ८० प्रतिशत ९प्रतिटनेल रु एक लाख ५० हजार० अनुदानमा सहयोगमा ती टनेलमा तरकारी खेती गरिएको छ ।

रामपुर नगरपालिकामा क्षेत्रमा लगाइएका तरकारी बालीमा पनि असिनापानीले क्षति पु¥याएको छ । असिनापानीका कारण फल लाग्न थालेका करीब दुई रोपनी क्षेत्रमा लगाइएका गोलभेँडा पूरै नष्ट भएको कृषक सूर्यप्रसाद रेग्मी बताउनुहुन्छ ।

तीन दिनअघि आएको असिनापानीबाट फल्दै गरेका र फूल लाग्दै गरेका करीब रु आठ लाख बराबरको तरकारी बालीमा क्षति पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानीय तहमा पनि असिनापानीले तरकारी बालीमा बढी क्षति पुगेकाले कृषकले क्षतिपूर्ति माग गरेका छन् ।

बिचौलियाबाट उपभोक्ता मुक्त हुँदै
कृषि एम्बुलेन्समार्फत घरघरमा तरकारी उपलब्ध गराउन शुरु गरिएपछि उपभोक्ता बिचौलियाबाट मुक्त भएका छन् । लकडाउनलाई ध्यानमा राखी तानसेन नगरपालिकाले युवा परिषद्को व्यवस्थापनमा घरबाटै ताजा तरकारी उपभोक्ताले खरीद गर्न पाएका छन् । एक किलो तरकारीमा कृषकबाट लिएको मूल्यमा आधा बढी मूल्य तिरेर खरीद गर्न बाध्य यहाँका उपभोक्ता अहिले कृषककै खेतबारीकै मूल्यमा तरकारी खरीद गर्न पाएपछि खुशी छन् ।

व्यापारीले कृषकबाट सस्तो मूल्यमा तरकारी खरीद गरेर महँगो मूल्यमा बिक्री गर्दा उपभोक्ता मारमा पर्दै आइरहेको तानसेन बजारमा कोठा भाडामा बस्दै आउनुभएको सरस्वती रेग्मी बताउनुहुन्छ । “एक किलो तरकारीमा आधा बढी नै नाफा खाएर व्यापारीले बेच्छन्, लकडाउनमा कृषि एम्बुलेन्स शुरु भएपछि घरघरमा ताजाताजा तरकारी आउँछ, कृषकले खेतबारीमा नै बेच्ने मूल्यमा हामीले खरीद गर्न पाएका छौँ”, उहाँले भन्नुभयो ।

कृषकले उत्पादन गरेका कृषि उपज उपभोक्ताको घर घरमा सहज रुपमा पु¥याउन सदरमुकाम तानसेन क्षेत्रमा कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो । कृषि एम्बुलेन्स सेवाअन्तर्गत प्रतिकिलो काउली रु २०, बन्दा रु १० र काँक्रा रु ४० मा खरीद मूल्यमा नै बिक्री भइरहेको छ ।

दैनिकजसो चारदेखि पाँच कृषि एम्बुलेन्समार्फत तानसेनलगायत विभिन्न स्थानमा कृषकको खेतबारीमै पुगेर तरकारी खरीद गर्ने र उपभोक्तालाई घरघरमा पु¥याउने कार्य भइरहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

भीडभाड नगरिकन दूरी कायम गरेर तरकारी खरीद गर्ने र उपभोक्तामाझ पु¥याउने कार्य भइराखेको प्रमुख अर्यालको भनाइ छ । तरकारी खरीदबिक्रीका लागि जिल्लामा कृषि ज्ञानकेन्द्र, तरकारी जोन कार्यालय र सहकारीका तीन गाडी प्रयोगमा ल्याइएको छ । तानसेन क्षेत्र, बगनासकाली गाउँपालिका र राजमार्ग आसपास क्षेत्रका घरघरमा तरकारी उपलब्ध गराइएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्