बाँके राष्ट्रिय निकुञ्जमा पर्याप्त पानीको स्रोत नहुँदा जंगली जनावरलाई समस्या « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

बाँके राष्ट्रिय निकुञ्जमा पर्याप्त पानीको स्रोत नहुँदा जंगली जनावरलाई समस्या



बाँके । बाँके राष्ट्रिय निकुञ्जमा पर्याप्त पानीको स्रोत नहुँदा जंगली जनावरलाई समस्या छ । जनावरको संख्या बढ्दै गए पनि पर्याप्त पिउने पानीका लागि खोला, ताल, पोखरी र सिमसार क्षेत्र नहुँदा समस्या भएको हो । बाघको प्रमुख बासस्थानका रुपमा १० वर्षअघि विस्तार गरिएको राष्ट्रिय निकुञ्जमा हाल २१ बाघ पुगेको छ ।

वर्षात्मा निकुञ्जमा जसोतसो आकाशे पानी जम्मा गरिए पनि खडेरीका समयमा पानीको चरम अभाव हुने गरेको छ । पानी अभावमा वन्यजन्तु मात्र नभई वनस्पति सुक्न थालेका छन् भने घाँस उत्पादन नहुँदा बाघको आहारा प्रजाति चित्तल, चौका र जरायोसमेत संकटमा परेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई जनावरलाई आहाल बस्न र पौडिन मात्रै नभएर पिउने पानीकै प्रमुख समस्या रहेको बताउनुहुन्छ । पानी नहुँदा निकुञ्जबाट जनावर बाहिर निस्कने गर्दा मानवीय क्षतिसँगै जनावर मारिने गरेको भट्टराईको भनाइ छ । यो निकुञ्ज बाघ र हात्ती तथा चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावरको मुख्य बासस्थान मानिन्छ ।

पौडी नखेल्ने जनावरलाई पनि पिउने पानी पर्याप्त चाहिन्छ तर ५५० वर्गकिलोमिटरको निकुञ्जमा ७० मात्र कृत्रिम पोखरी निर्माण गरिएका छन् । तीमध्ये झण्डै ४० पोखरीमा पानी छैन । केही पोखरीमा ट्याङ्करको माध्यमबाट पानी राख्ने काम गरिएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो ।

पानीको अभाव कम गर्न निकुञ्जका खेरी, गोठेरी र गन्धेलीमा तीन डिप बोरिङ्ग पनि सञ्चालनमा ल्याइएको छ । निर्माणाधीन सिक्टा सिंचाइ आयोजनाको नहर यही निकुञ्जबाट निर्माण गरिएको छ तर नहरमा पानी पिउन जाने चित्तल डुबेर मर्ने गरेको निकुञ्जले जनाएको छ ।

प्रमुख संरक्षण अधिकृत भट्टराई जनावरले पानी पिउन सक्ने संरचना नहरमा बनाउन निकुञ्जले सिंचाइ आयोजनासँग मिलेर अध्ययन गरिरहेको बताउनुभयो निकुञ्जभित्र खहरे खोला मात्र रहेकाले पानीको अरू स्रोत देखिंँदैन ।

निकुन्जको करिब ६० प्रतिशत भूभाग भावर र चुरे क्षेत्रमा पर्छ । वर्षायाममा बाहेक अन्य याममा पनि पानीको अभाव हुने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार भावर क्षेत्रमा पानी सोस्ने र चुरे क्षेत्रमा मुहान भेटिए पनि जनावरको उपस्थिति नहुने भएकाले समस्या छ । अधिकांश वन्यजन्तुको बासस्थान भावर क्षेत्रमा रहने गरेको छ ।

प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “प्राकृतिकरुपमा रहेका पानीका मुहानको भण्डारण गरी पोखरी निर्माण गरिएको हो तर पानीको पर्याप्त स्रोत नहुँदा तीन वटा पोखरी सुकिसकेका छन् । अन्यमा पनि पानीको सतह घट्दै गएको छ ।”

वन्यजन्तुको मृत्यु हुने कारणमा उनीहरुले पर्याप्त पानी पिउन नपाउनु पनि रहेको निकुञ्जका कर्मचारी बताउँछन् । बाँके निकुञ्ज सुख्खा क्षेत्र भएकाले माघदेखि जेठ महिनासम्म वन्यजन्तुलाई पानीको अत्याधिक समस्या हुने गरेको उहाँको भनाइ छ ।

निकुञ्ज क्षेत्रमा ७५ किलोमिटर राजमार्ग छ । पानी पिउन राजमार्ग हुँदै राप्ती नदीमा पुग्ने वन्यजन्तुको सडक दुर्घटनामा परेर मृत्यु हुन्छ । आर्थिक वर्ष २०७४/०७५ मा ७२ , आव २०७५/०७६ मा ६५ र चालु आवको हालसम्म ४० वन्यजन्तुको मृत्यु भएको छ । लकडाउनकै अवधिमा पनि सडक दुर्घटनामा परेर दुई वन्यजन्तुको मृत्यु भएको निकुञ्जले जनाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्