तरकारीको मुल्य निर्धारण, २० प्रतिशतसम्म मुनाफा सहमति « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

तरकारीको मुल्य निर्धारण, २० प्रतिशतसम्म मुनाफा सहमति



अर्घाखाँची । लकडाउनका समयमा तरकारीको मूल्य अत्यधिक भएको गुनासो आएपछि जिल्लामा यसको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट तरकारीको मूल्य निर्धारण गरिएको हो ।

तरकारीको मूल्य महंँगिएको भन्दै सन्धिखर्कका व्यापारीले उपभोक्ताबाट बढी मूल्य असुल्दै आएका थिए । जिप्रका र तरकारी व्यापारीबीच खरीद र ढुवानी मूल्यसहितको मूल्यमा अधिकतम २० प्रतिशत मुनाफा राखी बेच्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेलबासेले बताए ।

कोरोना भाइरसका कारण गरिएको लकडाउनले तरकारी अभाव भएपछि अर्घाखाँचीमा कपिलवस्तुबाट तरकारी आयात गरिएको छ । पहिलो चरणमा तरकारी अभाव भएपछि कपिलवस्तु, रामघाटबाट ब्रोकाउली, बन्दा, टमाटर, गाजर, लौका, खुर्सानी, सिमीलगायत १० टन तरकारी जिल्लामा भित्र्याइएको तरकारी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष रामहरि घिमिरेले जानकारी दिए ।रासस


प्रतिक्रिया दिनुहोस्