उपत्यकाका व्यस्त सडकमा खानेपानीको चुहावट मर्मत « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

उपत्यकाका व्यस्त सडकमा खानेपानीको चुहावट मर्मत



काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ‘लकडाउन’ को समयमा उपत्यकाका व्यस्त सडकमा चुहावट मर्मतको कामलाई तीव्रता दिएको छ । सामान्य अवस्थामा व्यस्त सडकमा सवारी चापका कारण मर्मत गर्न नसकिने १०० स्थानमा चुहावट मर्मत भएको लिमिटेडले जनाएको छ ।

यो समयमा सडकमा सवारी साधन कम भएकाले काम गर्न सहज बनेको छ । चुहावट मर्मतका लागि सडक विभाग र ट्राफिक प्रहरीबाट आवश्यक समन्वय र सहयोग भइरहेको लिमिटेडले जनाएको छ । उपत्यकाका तीन जिल्लामा गरी मर्मत भएका यी १०० स्थानमा ठूला चुहावट बढी रहेका छन् । अरु समयमा काम गर्न चाहेर पनि नसकिएको स्थानमा अहिले काम भइरहेको लिमिटेडले जनाएको छ । ती स्थानमा सामान्य अवस्थामा रातको समयमा मात्रै काम गर्न सकिने अवस्था थियो । थोरै जनशक्ति र सामग्री भएपछि मर्मतको काम गर्न सकिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक सावधानी अपनाएर काम भइरहेको छ ।”

गौशाला चोक, बानेश्वर, बत्तीसपुतलीलगायत स्थानमा चुहावट मर्मतको काम भइसकेको छ । केही दिनमै कोटेश्वर चोकमा काम हुने उहाँले बताउनुभयो । यस चोकमा काम गर्नका लागि सडक विभागसँग अनुमति मागिएको छ । उहाँले भन्नुभयो, “भर्खर कालोपत्र भएकाले उहाँहरुले दिइसक्नुभएको छैन ।”

लिमिटेडले केही समय पहिलेदेखि नै चुहावट मर्मतलाई अभियानकै रुपमा अघि बढाएको छ । मेलम्ची खानेपानी आयोजनाले आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याइसकिने योजनाका साथ काम अघि बढाएको छ । मेलम्चीको पानी आएपछि पानीको मात्रा बढ्ने हुँदा चुहावट पनि त्योसँगै बढ्नसक्ने हुँदा त्यो कम गर्न अहिलेबाट नै मर्मत थालिएको हो । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइनको विस्तारको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिसकेको छ । हालसम्म पानी पर्याप्त हुन नसकेकाले नयाँ पाइपलाइनको परीक्षण भइसकेको छैन । पानी आएपछिको एक वर्षसम्म नयाँ पाइप परीक्षण हुने र पुरानै पाइपबाट पानी वितरण हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सयौँ वर्ष पुराना पाइपमा ठूलो मात्रामा पानी पठाउँदा अझै धेरै चुहावटको सम्भावना हुन्छ ।”

काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा ४० प्रतिशत पानी चुहावट हुने बताइन्छ । उपत्यकामा एकातिर आवश्यकताभन्दा धेरै कम पानी उत्पादन र त्यही पानी पनि वितरणका क्रममा चुहावट हुँदा उपत्यकामा सधैँ पानी अभाव रहेको छ । धेरै ठाउँमा जिआइ पाइप भएको र त्यसको आयु कम हुने भएकाले पनि चुहावटको समस्या आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै एक वर्षसम्म तिनै पाइपबाट पानी पठाउनुपर्ने भएकाले अझै समस्या आउनसक्छ ।”

अहिले सुख्खा मौसममा उपत्यकामा दैनिक जम्मा नौ करोड लिटर पानी उत्पादन हुन्छ । त्यो जम्मा मागको २१ प्रतिशत मात्रै हो । अहिले पनि उपभोक्ताका घरमा सातदेखि नौ दिनको अन्तरमा पानी वितरण भइरहेको उहाँले बताउनुभयो । उपत्यकामा बसोबास गर्नेको सङ्ख्या कम भएकाले त्यो अभाव केही कम भएको छ । उहाँले भन्नुभयो, “उत्पादन भएको पानी सकेसम्म बढी मात्रामा उपभोक्तासम्म पु¥याउन लागिएको छ ।”

लिमिटेडले उपभोक्ताले सहजरुपमा गुनासो गर्न सकुन् भन्नका लागि मोबाइल एप्ससमेत प्रयोगमा ल्याएको छ । कुनै पनि स्थानमा चुहावटको गुनासो आएपछि पहिले सडक विभागसँग अनुमति लिनुपर्ने हुन्छ । उसले अनुमति दिएको दुई दिनभित्रै चुहावट मर्मत गरिँदै आएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । कतिपय स्थानमा भने विभागले भर्खर सडक कालोपत्र भएको वा अति विशिष्ट व्यक्तिको आगमनको कारण देखाउँदै अनुमति दिन ढिलाइ गरेको छ । उहाँले भन्नुभयो, “तीबाहेकका कारणले मर्मतमा ढिलाइ हुँदैन ।”

विभिन्न स्थानमा उपभोक्ताले पानीमा कालो लेदो आएको गुनासो गरिरहेका छन् । ती स्थानमा लिमिटेडले खनेर समस्या के हो भनी हेर्दै आएको छ । ढल र खानेपानीको पाइपसँगै हुँदा खानेपानी फोहर आउने उहाँले बताउनुभयो । कहिलेकाहीँ खानेपानीको पाइप ढलभित्र हुँदा ढलमा सफा पानी बग्ने उहाँले बताउनुभयो ।

लिमिटेडले लकडाउनको समयमा समेत पानी वितरणसँगै मुहान अनुगमन, चुहावट मर्मत गरिरहेको छ । आवश्यक स्वास्थ्य सुरक्षासहित कर्मचारी फिल्डमा खटिएका छन् । यी महिना वर्षकै सबैभन्दा कम पानी हुने महिना भए पनि यो वर्ष उपत्यकाबाट धेरै मानिस बाहिरिएकाले पनि पानीको समस्या केही कम भएको छ । लिमिटेडले लकडाउन अवधिमा पानीको महसुल तिर्न ढिलाइ गर्दा पनि जरिवाना नलाग्ने जनाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्