फरार सूचीमा रहेका वडाध्यक्षद्वारा आत्मसमर्पण

म्याग्दी । प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद गरेको थियो । हात हतियार तथा खरखजना मुद्दा चलाइएपछि शेरपुजा फरार भएका थिए।
अनुसन्धानमा सहयोग गर्न र कानूनीरूपले मुद्दाको प्रतिवाद गर्न शेरपुजा आफै आइतबार प्रहरीकहाँ पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।
उनका अनुसार प्रशासनबाट निजी हतियार राख्ने अनुमति नलिएका शेरपुजाको घरबाट बरामद भएको गोली प्रयोगशालामा परीक्षण गर्दा बाह्र बोरको भएको पुष्टि भएको छ ।
चैत २९ गते बिहान ‘नेकपा गापा अध्यक्ष दीपक कार्की बिखर्ची मित्रले झैँ सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछु’ भनेर फेसबुकमा स्टाटस राखेका शेरपुजाले केही समयमा हटाएका थिए ।
शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उमेदवार भएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनलाई कांग्रेसका नेताहरुले प्रहरी कार्यालयमा ल्याएर आएका थिए । स्थानीय चुनावअघि कांग्रेसमा प्रवेश गरेका शेरपुजा कांग्रेसको रघुगङ्गा पालिका कार्यसमितिको सचिव हुन् ।
विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आबद्ध थिए ।
अवैध हातहतियार वा गोलीगठ्ठा राखेकाले शेरपुजाविरुद्ध अदालतमा हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइएको थियो ।
फौजदारी अभियोग लागेपछि उनको पद निलम्बन हुने कानूनी व्यवस्था छ । अदालतले उनलाई दोषी ठहर गरे र पुनरावेदनमा पनि असफल भएमा वडाध्यक्ष पद गुम्नेछ ।रासस