आन्दोलनको तयारीमा उखु किसान « Arthapath.com
२८ बैशाख २०७७, आईतवार

आन्दोलनको तयारीमा उखु किसान



काठमाडौं । लकडाउनको मारमा सर्लाहीका उखु किसान थप पीडित बनेका छन् । धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन् ।

उद्योगले वि।सं २०७० देखि हालसम्म १२ हजार किसानको करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानले उद्योगलाई चिनी बिक्री वितरणमा रोकसमेत लगाएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताए । उनका अनुसार केही दिन पहिला उद्योगले किसानलाई थाहै नदिई गोप्यरूपमा गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानीय किसानले चिनी लोड भएका चार ट्रक नियन्त्रणमा लिएका थिए । त्यसपश्चात उद्योगले एक–दुई किसानलाई केही रकम मात्र दिए पनि पूरै रकम नदिएको साथै सबैको रकम नदिएको भन्दै किसानले उद्योग विरुद्ध आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।

लकडाउनको समयमा किसानको आवतजावत कम भएको मौका छोपी उद्योग प्रशासनले गोप्यरूपमा चिनी लैजान खोज्दा सबै गाउँले किसान मिलेर ट्रकलाई नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् । गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योगले पनि गत वर्षको केही रकम भुक्तानी गर्न बाँकी रहेको स्थानीय किसान ठाकुरले बताए । गत फागुन १८ गतेसम्म सञ्चालनमा गरेको महालक्ष्मी चिनी उद्योगले माघ ७ गतेसम्मको रकम मात्र भुक्तानी गरेको ठाकुरले जानकारी दिए ।

सरकारले धोका दिएर किसानले पाउनुपर्ने उखुको अनुदानसमेत अहिलेसम्म नपठाएको किसानले बताएका छन् । जारी लकडाउनका कारण बाहिर काम गर्न जान नपाएको र आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य पदार्थको भुक्तानी पनि नपाउँदा किसान मारमा परेका हुन् । उद्योगले भुक्तानी समयमा नदिएपछि आफ्नो खेत बेचेर साहुको ऋण चुक्ता गर्न बाध्य भएको अर्का किसान रामशरण यादवले बताए ।

भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानहरू न्याय नपाएपछि पुसको कठ्याङ्ग्रिँदो जाडोमा नाङ्गा खुट्टा आन्दोलन गर्न काठमाडौं पुगेका थिए । समयमै उखुको भुक्तानी माग राख्दै जिल्लाका उखु किसान माइतीघर मण्डलामा प्रदर्शन तथा धर्नामा समेत बसेका थिए । सरकारले उखु किसान तथा उद्योगीबीच सहमति गराउँदै किसानलाई आन्दोलन स्थगन गरी पठाएको भए पनि अन्नपूर्ण चिनी उद्योगले सम्झौताविपरीत किसानको भुक्तानी समयमा नगर्दा उनीहरु थप मर्कामा परेका हुन् ।

किसानले उद्योगको गोदाममा रहेको चिनी बिक्री वितरण गर्न नदिएका कारण किसानको रकम भुक्तानीमा ढिला भएको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले बताए । “आफ्नो गोदाममा चिनी छ, किसानले बेच्न दिदैनन् । अनि कसरी उनीहरुको भुक्तानी गर्न सकिन्छ”, अग्रवालले भने । किसानले थोरै भए पनि सबै किसानलाई तत्कालै भुक्तानी दिन माग गरेका छन् । यदि उद्योगले यथाशीघ्र थोरै भए पनि उखुको भुक्तानी नदिए आन्दोलन गर्ने तयारीमा रहेको उखु किसानले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्