बजेट विकासको ढाँचाले विभिन्न ७ वटा विशेषता बोकेको हुनुपर्नेः श्रेष्ठ « Arthapath.com
२९ बैशाख २०७७, सोमबार

बजेट विकासको ढाँचाले विभिन्न ७ वटा विशेषता बोकेको हुनुपर्नेः श्रेष्ठ



काठमाडौं । राष्ट्रियसभा सदस्य नेता नारायणकाजी श्रेष्ठले वर्तमान आवश्यकता र नयाँ सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुँदै नयाँ आवश्यकता र नयाँ सोचका आधारमा सरकारले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्नुपर्ने उनले बताए ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमबाट परेको आर्थिक प्रभावलाई मध्यनजर गरि बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने तर्क उनको थियो ।

वर्तमान आवश्यकतालाई मध्यनजर नगर्दा निरन्तरको बजेट हुने भन्दै उनले त्यस तर्फ पनि सरकारको ध्यानाकर्षण गराए । बजेटलाई अनावश्यक महत्वकांक्षी नबनाईकन आर्थिक अवस्थालाई चलायमान बनाउने गरि आकार निर्धारण गरिनुपर्ने तर्क उनको थियो ।

उनले विकासको ढाँचाले विभिन्न ७ वटा विशेषता बोकेको हुनुपर्ने बताए । प्रकृतिमैत्री, समावेशी वृद्धि, समााजिक न्याय, श्रमजीवी वर्ग केन्द्रीत समाजवाद उन्मुख, मानवकेन्द्रीत भएर विज्ञान र प्रविधिको अधिकतम चिजहरुको उपयोग गर्ने,दीगो विकासको चरित्र बोकेको र आत्मनिर्भर अर्थतन्त्रको दिशा तर्फ जाने किसिमको विशेषता विकासले बोक्नुपर्ने बताए ।

उनले विकास र प्रकृतिको सन्तुलन कायम गरिनुपर्ने, मान्छे, विज्ञान प्रविधि लगायत सबै कुरा व्यापारको वस्तु ठानेर गरिने व्यक्तिमुखी समाज व्यवस्था संञ्चालन भन्दा जीवन दृष्टिकोण सहितको विकासको ढाचा र सामाजिक प्रणालीमा पनि नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औल्याए ।

उनले आत्मनिर्भर अर्थतन्त्रको दिशामा, लोकतन्त्रको रक्षा र मौलिक अधिकारको प्रत्याभुतिमा बजेटका सिद्धान्त केन्द्रीत गर्नुपर्ने आवश्यकता औल्याए । त्यसैगरी कोभिड १९ को रोकथाम, उपचारलाई प्रभावकारी बनाउने तर्फ योजना केन्द्रीत गर्नुपर्ने,राहत प्याकेज र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने विषयलाई पनि केन्द्रमा राखिनुपर्ने उनको तर्क थियो ।

गरिब, श्रमजीवी समूह केन्द्रीत राहत प्याकेज र समग्र आर्थिक पुनरुत्थानका लागि समग्र योजना सहितको आवश्यक प्याकेज दिन नसक्ने हो भने निरन्तरको बजेट मात्रै हुने भन्दै उनले कृषि क्रान्ति र हरित क्रान्तिमा केन्द्रीत गरेर योजना बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्