जहाँ बाझो जमिनमा खेती गरे अनुदान पाइन्छ « Arthapath.com
१ जेष्ठ २०७७, बिहीबार

जहाँ बाझो जमिनमा खेती गरे अनुदान पाइन्छ



नरेन्द्र ढकाल
गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानका लागि आकर्षक योजना अघि सारेको छ । त्यहाँका किसानले हाल बाझो रहेका जमिनमा खेती गरे अनुदान पाउने भएका छन् । ‘अनुपस्थित भु–स्वामित्वलाई निरुत्साहित गरी कृषि व्यवसायबाट स्वरोजगारी सृजना गर्नु हाम्रो मुख्य उदेश्य हो,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भन्नुभयो, ‘यसले रोजगारीको सिर्जना गरी सम्भावित भोकमरी एवं कुपोषणलाई निर्मुल पार्दै पोषण र खाद्य सुरक्षा प्रर्वद्धन गर्नेछ भन्ने विश्वास छ ।’

जसका लागि कृषि व्यवसाय प्रवद्र्धन ऐनको परिधीमा रहेर ‘बाझो जग्गा उपयोग अनुदान कार्यविधि–२०७७’ समेत बनाइएको छ । उक्त कार्यविधिमा ४ किसिमका बालीका लागि अनुदान दिने उल्लेख छ । खाद्यान्न बाली र तरकारी बालीका लागि प्रतिरोपनी तीन हजार, मसला बालीका लागि दुई हजार पाँच सय र फलफूल बालीका लागि ५ हजार अनुदान दिने तयारी छ ।

‘बैशाख २४ गतेको कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरिसकेको छ । अबको केही दिनमा कृषि शाखाले लगत संकलनका लागि हरेक वडा–वडामा ७ दिने सूचना प्रकाशन गर्छ,’ प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भन्नुभयो, ‘१५ दिन भित्र हामी गाउँपालिका भित्रका सबै बाझो जग्गाहरुको लगत लिने काम सम्पन्न गर्छौ ।’

सूचना जारी भएपछि सम्बन्धित हकवालाले वडा कार्यालयमा आफ्ना बाझो जग्गाको लगत बुझाउनु पर्नेछ । यदि कसैले जग्गा उपलब्ध नगराएमा प्रतिरोपनी दुई सय जरिबाना लगाइने भण्डारीले बताउनुभयो । लगत संकलन सकिएपछि वडा स्तिरिय अनुमन समितिले उक्त जमिनको स्थलगत अनुमन गरेपछि अनुदानका लागि सिफारिस गरिनेछ ।

‘यदी आफ्ना जग्गामा खेति गर्न सक्ने अबस्थामा हुनुहुन्न भने उहाँहरुले भाडामा दिनु पर्ने हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो, ‘गाउँपालिकाले तोकेको दरमा वडा कार्यालयले सिफारिस गरेको व्यक्तिलाई खेति गर्न दिनुपर्ने बाध्यकारी व्यवस्था बनाएका छौं ।’ प्रतिरोपनी खेतको पाँच सय र पाखो बारीको चार सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । फर्म दर्ता गरेका किसान, कृषक समूह, कोरोना भाइरसको संक्रमणका कारण रोजगारी गुमाएका असंगठित क्षेत्रका मजदुरहरुलाई प्राथमिकतामा राखेर अनुदान दिने गाउँपालिकाको तयारी छ

‘यो कार्यक्रम मार्फत २ वर्ष भन्दा बढि बाझो रहेका जग्गालाई केन्द्रित गरिएको छ, हाल खेति भइरहेका जग्गाहरुमा नियमित कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । हामीले कृषक दाजुभाई दिदि बहिनीलाई प्रोत्साहन गर्न खोजेका हौं’ गाउँपालिका अध्यक्ष भट्टले भन्नुभयो, ‘आशा गरौं यसले यहाँका जमिनहरु हराभर हुनेछन । हाम्रो गाउँपालिका कृषिमा आत्मनिर्भर हुनेछ ।’
यो कार्यक्रमले कोरोना भाइरसको संक्रमणका कारण देश विदेशबाट रोजगारी गुमाएर गाउँ पुगेकाहरु बढि लाभाम्बित हुने गाउँपालिकाले विश्वास लिएको छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्