विद्युत् जडित क्षमता आगामी वर्ष ३ हजार मेगावाट पुर्याइने

काठमाडौं । सरकारले उज्यालो नेपाल निर्माणको प्रयासले सार्थकता पाएको भन्दै आगामी आवमा ३ हजार मेगावाट विद्युत् जडित क्षमता पुर्याइने कार्यक्रम ल्याएको छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो सरकारले नेपाललाई लोडसेडिंगमुक्त गरेको बताइन्। उनले राष्ट्रिय विद्युत् प्रणालीको जडित क्षमता १ हजार ३ सय ८६ मेगावाट पुगेकोमा आगामी आवमा विद्युत् जडित क्षमता ३ हजार मेगावाट पुर्याइने जानकारी दिएकी हुन्।
२ वर्षको अवधिमा थप ८ लाख ५२ हजार घरधूरीमा विद्युत् सेवा पुर्याइएको उनले बताइन्। आगामी आवमा वाग्मती, गण्डकी, प्रदेश २ र ५ मा तथा २ वर्षभित्र प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण विद्युतीकरण गरिने भएको छ।
राष्ट्रिय प्रसारण तथा वितरण प्रणाली नपुगेका हिमाली तथा उच्च पहाडी क्षेत्रमा २ सयवटा सौर्य मिनिग्रिड सञ्चालन गरी विद्युतीकरण गरिने भएको छ।