लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने « Arthapath.com
२ जेष्ठ २०७७, शुक्रबार

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने



काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना गर्ने समेत उनले बताइन् ।

सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

आगामी १० वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन आधुनिकीकरण र व्यवसायिक कृषि अभ्यासको योजना ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषियोग्य भूमिको पूर्ण परिचालन गर्ने, रासायनिक मल र उन्नत जातको बीऊको वितरण स्थानीय तहमार्फत गर्ने सरकारको नीति छ ।

यस्तै आधुनिक यन्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने, कृषि प्रशोधन केन्द्र खोलेर कृषि उपज निर्यातमा प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्थानीय तहमा बीऊ, नश्ल सुधार, बजारीकरणको इकाइ बनाइने, कृषि उपजको मूल्य श्रृङ्खलामा कृषि तथ्यांक एकीकृत गरिने, खाद्य स्वच्छता प्रर्वद्र्धन गर्ने, कृषि भूमिको सदुपयोग गरी भूमि बैंकको व्यवस्था गर्ने र चक्लाबन्दी खेतीमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिईने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । अब सरकारले देशभर भएका खानीको उत्खनन गर्ने भएको छ । सरकारले धौवादी फलाम खानी, पट्रोलो खानीका काम अगाडी बढाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्