नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव « Arthapath.com
४ जेष्ठ २०७७, आईतवार

नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव



सुरेशकुमार यादव, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा आर्थिक रुपान्तरण तथा स्वास्थ्य सेवाका विषयमा विशेष जोड दिएको पाइएको उल्लेख गर्दै ती कुरालाई बजेटमा राम्रोसँग समावेश गर्नुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमबारे गोरखापत्रलाई प्रतिक्रिया दिँदै नेता पाण्डेले भन्नुभयो, “कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा ठूलो असर पर्ने सम्भावना छ । होटेल, रेस्टुरेन्ट, पर्यटन, शिक्षा लगायतका क्षेत्र निकै प्रभावित भएका छन् । यी क्षेत्रलाई कसरी जोगाउन सकिन्छ साथै विदेशबाट लाखौँ युवा स्वदेश फर्किंदैछन् । उनीहरूलाई कसरी व्यवस्थापन गर्ने जस्ता विषयमा विशेष ध्यान दिई आगामी बजेटमा समावेश गर्नुपर्छ । ”

नीति तथा कार्यक्रममा प्राथमिकताका विषयहरू समेटे पनि लामो र विषयवस्तु दोहो¥याएर आएको, साना साना कुरालाई कार्यक्रमका रूपमा राखेको, चालू आर्थिक वर्षको कतिपय कार्यक्रमलाई पनि समावेश गरेको कारण नीति तथा कार्यक्रम लामो भएको उहाँले बताउनुभयो । नीति तथा कार्यक्रममा कतिपय राम्रा कुरा राखे पनि त्यो मिलाएर राख्न नसकेकाले ओझेलमा परेको बताउँदै नेता पाण्डेले अहिलेको नीति तथा कार्यक्रममा छुटेका कुरालाई बजेटमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममा सरकारले आगामी दिनमा गर्ने मुख्य कामको स्रोत उल्लेख गरेको बताउनुभयो । नीति तथा कार्यक्रमले सरकारमाथि जनताको विश्वास कायम गरेको बताउनुहुँदै उहाँले प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्ने नीति सरकारले लिएको स्पष्ट रूपमा देखिएको बताउनुभयो ।

नीति तथा कार्यक्रमप्रति नकारात्मक टिप्पणी गर्ने अवस्था नरहेको बताउँदै उहाँले कोरोना महामारीका कारण विश्वको अर्थतन्त्रमा देखिएको चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यसबारे पनि नीति तथा कार्यक्रममा प्रस्ट रूपमा बोलिएको बताउनुभयो ।

“विदेशमा रहेका युवा स्वदेश फर्केपछि उनीहरूलाई कसरी व्यवस्था गर्नेदेखि लिएर कोरोना भाइरसका कारण देखिएको आर्थिक सङ्कुचनलाई कसरी सम्बोधन गर्ने विषयमा पनि सरकार जिम्मेवारीपूर्वक लागेको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण आर्थिक क्षेत्रमा हुने सम्भावित असरलाई कृषि उत्पादनबाट समाधान गर्न सकिन्छ । त्यसमा तत्काल के के गर्न सकिन्छ, त्यसको बारेमा सरकार स्पष्ट नीति बनाएर अगाडि बढेको छ । यी सबै कुरा आगामी बजेटमा स्पष्ट रूपमा देख्न सकिनेछ । ”

कोरोना भाइरसका कारण प्रभावमा परेको क्षेत्रका लागि राहत तथा छुटको व्यवस्था गर्न पनि सरकारले नीति बनाएको बताउनुहुँदै पूर्वमन्त्री बाँस्कोटाले जनतालाई निराश हुन दिने अवस्थामा सरकार नरहेको प्रतिक्रिया दिनुभयो ।

पूर्वमन्त्री बाँस्कोटाले सरकार सुशासनप्रति पनि सचेत रहेको बताउनुभयो । भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्दै वर्तमान सरकारले देशमा सुशासन कायम गरेको थुप्रै उदाहरण रहेको बताउँदै उहाँले सरकारले स्थानीय, प्रदेश र सङ्घबीच सहकार्य गरी विकासनिर्माणका थुप्रै काम अगाडि बढाएको छ भन्नुभयो ।

सार्वभौमसत्ता, राष्ट्रियताप्रति सरकार गम्भीर रहेको कुरा पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतको विषयमा सरकार दृढतापूर्वक उभिएको बताउँदै उहाँले लिपुलेक, कालापानीसहितको नक्सा सरकारले सार्वजनिक गर्ने कुरा नीति तथा कार्यक्रममै उल्लेख मात्र गरेको छैन, त्यसलाई कार्यान्वयनमा ल्याउन पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रममा कतिपय कुरा राम्रो राखिए पनि त्यसमा केन्द्रित नभएको प्रतिक्रिया दिनुभयो । समसामयिक तथा प्राथमिकताको विषय केन्द्रित गर्न नसकेको बताउँदै उहाँले कोरोना भाइरसको अवस्थालाई कम आकलन गरेको दाबी गर्नुभयो । कोरोना भाइरसका कारण पर्यटन, वैदेशिक रोजगारी, कृषि लगायतको क्षेत्र प्रभावित भए पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश नगरेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, “यो असामान्य परिस्थितिलाई नीति तथा कार्यक्रममा केन्द्रित गरेको छैन । अहिलेको अवस्थामा रोग र भोकबाट जनतालाई कसरी जोगाउने, त्यो कुरालाई नीति तथा कार्यक्रममा समावेश नगरिए पनि आउने बजेटमा समावेश गर्नुपर्छ । ”

जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले हरेक कुरालाई समेटे पनि त्यसलाई आगामी बजेटले कसरी समेट्छ, त्यो मुख्य कुरा रहेको बताउनुभयो । कोरोना महामारीको अवस्थाले गर्दा जनतालाई निराश हुन नदिने प्रतिबद्धता सरकारले जनाएको छ, त्यो महŒवपूर्ण कुरा हो तर त्यो कसरी कार्यान्वयन गर्ने, जनताको विश्वास कसरी जित्ने त्यसमा सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो । सरकारले बेरोजगारी समस्या समाधान गर्न कृषिमा जोड दिएको छ, अर्थतन्त्रलाई कसरी सुधार गर्ने कुरा पनि समावेश गरिएको छ तर ती सबै सपनाजस्तो लागेको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले नीति तथा कार्यक्रममा प्राथमिकता तोक्न नसकेको बताउनुभएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावलाई कसरी कम गर्न सकिन्छ, त्यसको स्रोतका बारेमा पनि नीति तथा कार्यक्रममा खुलाउनुपर्ने थियो, त्यो गर्न नसकेको बताउँदै उहाँले यद्यपि आएका नीति तथा कार्यक्रमलाई सही ढङ्गले लागू गर्न सकियो भने त्यो पनि राम्रै हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले अरू कुराभन्दा पनि कोरोनाको महामारीबाट कसरी बच्न सकिन्छ, जनतालाई राहत कसरी दिन सकिन्छ, रोग र भोकबाट कसरी जोगाउन सकिन्छ त्यो कुरामा फोकस हुनुपर्ने हो । ”गोरखापत्र


प्रतिक्रिया दिनुहोस्